
काठमाण्डु, ३ असार– महिला प्रहरीलाई यौन सम्पर्कको प्रस्ताव राख्ने मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका दुई जिल्ला नेता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कालिकोट पुर्कोट–३ का ३० वर्षीय सुदिप परियार र बाँके वनकटुवा–९ का ३० वर्षीय सिर्जन बीसी छन् । परिवार र बीसी दुवै नेकपा–माओवादी काठमाण्डु जिल्ला कमिटी सदस्य हुन् ।
उनीहरुसँगै नेपाली सेनाका जवान सिन्धुपाल्चोक चिलाउने–९ का छिरिङ तामाङ पनि पक्राउ परेका छन् । तामाङलाई भने प्रहरीलाई सेनाको जिम्मा लगाएको छ । स्रोतका अुनसार उनलाई सेनाले कोर्टमार्सल गरेको छ ।
उनीहरु तीनै जनाले गत जेठ ३० गते राति करिब सवा ९ बजेतिर काठमाण्डु्को चावहिलचोकमा सादा पोशाकमा ड्युटीमा खटिएकी एक महिला प्रहरीलाई पैसा दिएर यौन सम्पर्क राख्ने प्रस्ताव गरेका थिए ।
‘सादा पोशाककी महिला प्रहरीलाई तिम्रो रेट कति हो, सुन्धारा जाऔं, सेक्स गरौं, फेरि यही ठाउँमा ल्याएर छाडिदिऔंला भनेछन्,’, महानगरीय प्रहरी वृत्त गौशालाका नायव उपरीक्षक अभिनारायण काफ्लेले काठमाण्डु टुडेसँग भने, ‘त्यसपछि महिला प्रहरीसँगै रहेका सादा पोशाकका पुरुष प्रहरीले उनीहरुलाई पक्रेका हुन् ।’
उनीहरुलाई हाल वृत्तको हिरासतमा राखिएको र सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्धा चलाउने तयारी भइरहेको काफ्लेले बताए ।
उनले रातिको समयमा बाटो हिंड्ने महिलाहरुलाई चावहिल पिपलबोटमा उच्छृंखल व्यक्तिहरुले दु:ख दिने गरेको गुनासो आएपछि महिला प्रहरीलाई सादा पोशाकमा खटाइएको र सोही क्रममा उनीहरु पक्राउ परेको जानकारी दिए ।