व्यापारी दम्पत्ती हत्याकाण्डमा संलग्न दुई पक्राउ

काठमाण्डु टुडे २०७१ असार ३ गते ८:४२ मा प्रकाशित

सप्तरी, ३ असार– सप्तरीको हनुमाननगरमा व्यापारी दम्पत्तीको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

apaharan kari पुर्वक्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरका अनुसार जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले हत्यामा संलग्न सुनसरी हरिपुर ७ बस्ने २४ बर्षीय कैजुम मिया र श्रीपुर जब्दी ८ बस्ने ३५ वर्षीय हैदर अली रहेका छन् ।

उनिहरुले गत जेठ २२ गते हनुमाननगर  ५ बस्ने ५२ बर्षीय प्रेमसुख देगबानी र निजको श्रीमती ५० वर्षीया सरो देगबानीको हत्या गरेका हुन् ।

प्रहरीले उनिहरुको साथबाट कटुवा पेस्तोल १ थान र गोली दुई राउण्ड, हत्यामा प्रयोग गरिएको पिलास, रड, बन्चरो, पेचकस, रेन्च, एनाईसथेटिक ईथर समेत बरामद गरेको स्रोतले जनाएको छ  ।

हत्याराहरुले ईथर सुँघाई लुटपाटपश्चात् पहिचान खुल्ने डरले दम्पतीको हत्या गरेको खुलेको छ ।

देगबानी दम्पति हत्यापश्चात् भाग्न प्रयोग भएको अन टेस्ट मोटरसाइकल २ वटा, दुईथान मोवाइल समेत अभियुक्तको साथबाट प्रहरीले जफत गरेको छ ।

 लुटेराका साथबाट १३९ ग्राम ४३० मिलिग्राम सुन र १० किलो १०० ग्राम चाँदीका विभिन्न गरगहनाहरु लौकही ६ मा रहेको पुष्पाञ्जली ज्वलेर्सबाट प्रहरीले बरामद गरेको छ ।

लुटेका गरगहना खरिद गर्ने सो सुनचाँदी पसलका धनी सुनसरीको ईनरुवा नगरपालिका १ का सुबोध स्वर्णकार भने हाल फरार रहेका छन् ।

घटनामा संलग्न अन्य ५ जना व्यक्तिहरु सुनसरी हरिपुर ७ भण्टाबारीका २३ वर्षीय सलिम भन्ने अलाउदिन मियाँ, सुनसरी श्रीपुर ७ खुर्याई बस्ने २४ बर्षीय साविर मियाँ, सुनसरी श्रीपुर ७ भण्टाबारीका २५ वर्षीय ईनरदेव कामत, सप्तरी भारदह बस्ने ३५ बर्षीय बब्लु मण्डल र सप्तरी हनुमाननगर भारदह बस्ने हाल नाम वतन नखुलेको अन्दाजी २४ बर्षीय एक जना फरार रहेकाले तीव्र खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

अभियुक्तहरुलाई मुलुकी ऐनको ज्यान सम्बन्धी महल, खूनडाँका, हातहतियार तथा खरखजाना मुद्दाअन्तर्गत अनुसन्धान तथा कारबाही अगाडि बढाइएको र अत्याधिक सजाय सर्वस्वसहित जन्मकैदको व्यवस्था कानूनमा रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us