चितवन निकुञ्जका हात्तीहरु फुकुवा

काठमाण्डु टुडे २०७१ असार ३ गते ५:०५ मा प्रकाशित

elephantचितवन, ३ असार – एक करोडभन्दा बढीको लगानीमा चितवन निकुञ्जमा पालिएका हात्तीहरूलाई साङ्लो मुक्त गरिएको छ ।

निकुञ्जले पालेका हात्तीहरूलाई यसअघि खुट्टामा साङ्लोले बाँधेर राख्ने गरिएकामा अभियान सफल भएपछि अहिले भने निश्चित क्षेत्र छुट्याएर हात्तीहरूलाई खुला छाड्न थालिएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँवरले बताए ।

चितवनका १३ वटा हात्तीसारमा रहेका चार दर्जनभन्दा बढी हात्तीलाई साङ्लो मुक्त गरिएको छ । मुख्यगरी साङ्लाले बाँधेर राख्दा हात्ती रिसाउने र मानिसलाई समेत आक्रमण गर्ने गरेकामा अब खुला राखेपछि हात्तीको जीवनयापनमा सहज हुने र रिसाउने क्रम कम हुने पशुअधिकारकर्मीले बताएका छन् । हात्ती साङ्लो मुक्त गरिएसँगै निश्चित क्षेत्र छुट्याएर सौर्य तारबार गरिएको छ ।

इलेफेन्ट एड इन्टरनेसनल अमेरिकाको आर्थिक सहयोगमा सो कार्यक्रम गरिएको हो । जुन तारबारको विद्युतीय झड्काका कारण जङ्गलीहात्तीसमेत आउन सक्दैन ।

विगत तीन महिनादेखि सुरु भएको अभियान सम्पन्न भएपछि सबै प्रक्रिया इलेफेन्ट एड इन्टरनेसनलले चितवन निकुञ्जलाई हस्तान्तरण गरेको छ ।

यसअघि चितवनको सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषमा यो प्रविधि सफल भएपछि चितवन निकुञ्जका सबै हात्तीसारमा प्रयोग गरिएको निकुञ्जका प्रवक्ता टीकाराम पौडेलले बताए ।

सो क्षेत्रमा हात्तीको सरसफाइका लागि चाहिने आवश्यक सामग्रीसमेत सो संस्थाले निकुञ्जलाई उपलब्ध गराएको जनाएको छ । यो कार्यक्रमसँगै हात्तीको आनीबानीमा समेत परिवर्तन हुने र खुला महसुस हुने भएपछि हात्ती रिसाउने क्रम रोकिने विश्वास निकुञ्जको छ ।

चितवन निकुञ्जमा पालिएका ५० भन्दा बढी हात्ती यहाँको सुरक्षा, चोरी–सिकार नियन्त्रण, अन्य वन्यजन्तु पक्रनका लागि प्रयोग हुँदै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us