
काठमाण्डु, २ असार– सरकारले बेपत्ता छानबिन र मेलमिलाप आयोगमा गरिने नियुक्तिका लागि सिफारिस गर्न पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।
मन्त्रिपरिषदको सोमबारको बैठकले उक्त समिति गठन गरेको हो । समितिमा सपना प्रधान मल्ल, प्रदीप पोखरेल, घनश्यामलाल दास र राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष एवम् आयोगले तोकेको एक जना सदस्य रहने गरी समिति गठन गरेको हो ।
यस्तै मन्त्रिपरिषद्ले बैठकले शान्ति मन्त्रालयले विभिन्न समयमा विभिन्न राजनीतिक दल तथा समूहसँग गरेको सम्झौता कार्यान्वयन सिफारिस गर्न पूनरावेदन अदालतका पूर्वन्यायाधीश केशव मैनालीको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरेको छ ।
सो समितिका सदस्यहरुमा रामकुमार शर्मा, रिता मैनाली र दीपेन्द्र झा छन् । यस्तै बैठकले राष्ट्रपति चुरे संरक्षण क्षेत्र गठन आदेश स्वीकृत गर्दै पूर्वअर्थसचिव रामेश्वर खनाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ ।
यस्तै सुकुम्वासी समस्या समाधान आयोगको अध्यक्षमा शारदाप्रसाद सुवेदी, विश्व विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा डाक्टर परासर कोइराला र दलित आयोगको अध्यक्षमा मानबहादुर नेपालीलाई नियुक्त गरेको छ ।