गणेश थापा भन्छन्, ‘भ्रष्टाचार प्रमाणित गर, झुण्डिन तयार छु’

काठमाण्डु टुडे २०७१ असार २ गते १३:१६ मा प्रकाशित

काठमाण्डु, २ असार– अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाले आफूमाथि लागेका आर्थिक अनियमितताका आरोप सही सावित गर्न चुनौती दिँदै आरोप प्रमाणित भए फाँसीमा झुण्डिन तयार रहेको बताएका छन् ।

ganesh thapaएन्फा कम्प्लेक्स सातदोवाटोमा सोमबार पत्रकार सम्मेलन गर्दै थापाले आरोप प्रमाणित भए सजाँय मात्र नभई आफूलाई फाँसी दिनुपर्ने भन्दै आरोप लगाउनेलाई उक्त आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएका हुन् ।

‘फुटबलको रकम गणेश थापाले ब्याजमा लगानी गर्‍यो भनेरसमेत साथीहरुले प्रश्न उठाएछन्’, थापाले भने, ‘मलाई लागेको आरोप प्रमाणित भए फाँसीमा झुण्डिन तयार छु ।’ नेपाली फुटबल र खेलकुद क्षेत्रमा आँच आउने कुनै काम नगरेको थापाको दाबी छ । भोट किन्न आफूले रकम लिएको भन्ने समाचारको उनले खण्डन गरे ।

आरोप प्रमाणित भए एक मिनेटमै पद छाड्ने पनि बताए । फिफा पूर्वअध्यक्ष बिन हमामसँग आफूले व्यापारिक प्रयोजनका लागि रकम लिएको उनले बताए । हमाम कम्पनीसँग आफूले सन् २००८ देखि साझेदारीमा व्यापार पनि गरिहेको उनले बताए ।

तर कुन व्यवसाय गरेको भनेर चाहिं थापाले खुलाउन चाहेनन् । कतारी फुटवल क्लवसँग एन्फाले २ लाख डलर लिएको बताउँदै संचारमाध्यममा आएजस्तो ८ लाख डलर नलिएको दाबी गरे ।

उनले कतार फुटबल संघसँग ८ लाख डलरको सहमति गरेको रिपोर्ट बेलायती मिडिया द सन्डे टाइम्सले आइतबार प्रकाशित गरेको थियो । तर थापाले २ लाख डलर मात्र लिएको दाबी गरे । सन्डे टाइम्सले एक साताअघि प्रतिबन्धित एएफसीका पूर्वअध्यक्ष हमामको कम्पनी केम्कोबाट थापाले व्यक्तिगत रुपमा १ लाख १५ हजार पाउन्ड लिएको खुलासा गरेको थियो ।

तर थापाले पाउन्डमा नभई व्यक्तिगत रुपमा डलरमा रकम लिएको बताए ।  एन्फाका बारेमा अन्तराष्ट्रिय रुपमै छानबिन भइरहेकाले त्यस विषयमा आफूले सम्पूर्ण कागजात बुझाइसकेको उल्लेख गरे ।
आफूविरुद्ध आन्दोलनमा उत्रिएका एन्फा उपाध्यक्ष कर्माछिरिङ शेर्पा लगायतको समूहलाई उनले झुम्राहरुको संज्ञा दिए । ‘चुनाव हारेका झुम्रा साथीहरु यसअघि मसँगै थिए’, थापाले भने अहिले किन निहुँ खोज्दैछन् मलाई थाहा भएन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us