सरकारले स्वीकृत नगरेको धान रोप्दै किसान

काठमाण्डु टुडे २०७१ असार २ गते ११:३५ मा प्रकाशित

भक्तपुर, २ असार – चीनबाट ल्याइएको डि वाई ६९ जातको हाइब्रिड बीउ ल्याएर धान रोप्दा गत वर्ष धान बाली नष्ट भए पनि यस वर्ष भक्तपुरका किसानले पुनः यही जातको धान रोप्ने भएका छन् ।

सरकारले उपत्यकाका लागि यो धान बाली रोप्न स्वीकृत नगरे पनि किसानले यस वर्ष पनि यही धान रोप्न बीउ खरिद गरेर राखेपछि भक्तपुरको धान बालीमा यस वर्ष पनि उत्पादन नहुने आशङ्का गरिएको छ ।

प्रतिरोपनी १२ मुरी धान फल्ने लोभमा गत वर्ष भक्तपुर र काभ्रेका किसानले चीनबाट ल्याइएको डि वाई ६९ जातको हाइब्रिड बीउ रोप्दा धानको बाला लाग्न थालेपछि सबै बाला र धानको बोट नै सुक्दा भक्तपुरमा मात्रै १० हजार हेक्टर खेतमा लगाइएको धानबाली नष्ट भएको थियो ।

सरकारसँग नष्ट भएको धान बालीको क्षतिपूर्ति मागिरहेका कृषकले यस वर्ष फेरि पनि त्यही जातको धानबाली लगाउने भएपछि यस वर्ष पनि भक्तपुरमा धानबाली राम्रो नहुने सङ्केत देखिएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ ।

भक्तपुरका विभिन्न बीउबिजन पसलले डि वाई ६९ जातको हाइब्रिड बीउ नै बिक्री गरेका छन् । भक्तपुरको च्यामासिंह, कमलविनायक, सूर्यविनायक, जगाते, सल्लाघारी, ब्यासी, थिमीलगायतका बीउबिजन पसलबाट किसानले डि वाई ६९ जातको हाइब्रिड बीउ नै खरिद गरेर लगेका छन् ।

च्यामासिंहस्थित बीउ भण्डारका सञ्चालक कृष्ण सुवालले किसानहरू डि वाई ६९ जातको हाइब्रिड बीउ नै खोज्दै आएको र यही धानको बीउ धेरै बिक्री भएको जानकारी दिए ।

जगातेका बीउ पसल सञ्चालक रामकृष्ण हाडाले गत वर्ष धान बाली नष्ट भए पनि यस वर्ष पनि किसानले डि वाई ६९ जातको हाइब्रिड बीउ नै खोज्दै आएको र धेरै बीउ बिक्री भएको बताए ।

कृषि विकास कार्यालयका अनुसार सरकार र नार्कले सिफारिस नगरेको यो जातको बीउ किसानले रोप्दा समस्या आउने गरेको हो । डि वाई ६९ जातको धान एक वर्ष रोपेपछि सोही जमिनमा अर्को वर्ष उत्पादन नहुने अध्ययनको क्रममा पाएकाले स्थानीयले अन्जानमा बढी लाभ लिन सोही जातको धान लगाउँदा क्षति ब्यहोर्नुपरेको हो ।

भित्री मधेस र तराईको लागि मात्र चिनियाँ डिवाई सिरिजका डिवाई–६९, डिवाई–१८ र डिवाई–२८ जातको धान हुने भएकाले भक्तपुरमा नेपालमै उत्पादित धानको बीउ खुमल ११, खुमल ४, खुमल १०, ताइचिन २४२ जातको बीउ लगाए उपयुक्त हुने कार्यालयको सुझाव छ तर भक्तपुरमा मात्रै यस वर्ष पनि चिनियाँ डि वाई ६९ जातको हाइब्रिड बीउ ६ टन भन्दा बढी बिक्री गरिएको अनुमान छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us