
काठमाण्डु, २ असार – सोमबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य उपचारका लागि अमेरिका भ्रमण स्वीकृत गरेको छ ।
अमेरिका जानुअघि सोमबार बसेको बैठकले ३ वटा विकास क्षेत्रका प्रमुखहरुको जिम्मेवारीमा हेरफेर गरेको छ ।
उर्जामन्त्रालयका अर्जुन कार्कीलाई पश्चिमाञ्चल क्षेत्रिय प्रशासको कायम मुकायम प्रमुख तोकिएको छ भने गृहमन्त्रालयका सहसचिब शंकर कोइरालालाई मध्यमाञ्चलको जिम्मा दिइएको छ।
यसैगरी पूर्वाञ्चल क्षेत्रिय कार्यालयको कायम मुकायम प्रमुखमा श्रम विभागका महाश्रम शर्मालाई पठाइएको छ ।
यसैगरी राष्ट्रिय अनुसन्धान विभागको कायम मुकायम प्रमुखमा जितबहादुर केसीलाई तोकिएको छ ।
सत्य निरुपण तथा मेल मिलाप आयोग तथा बेपत्ता खोजबिन आयोगको तयारीकालागि पूर्ब न्यायाधीश ओमभक्त श्रेष्ठ नेतृत्वको कार्यादल गठन गरिएको छ ।
शान्ति मन्त्रालयले राहत वितरणका लागि गरेका सम्झौता कार्यान्वयन गर्ने कि न नगर्ने भन्ने विषयमा छनबिन गर्न पुनरावेदनका पूर्व न्यायाधिश केशव मैनालीको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको छ।
प्रधानमन्त्री विकास कोष तथा समाजिक विकास परिचालन सल्लाहाकारमा डा बिजन पन्तलाई नियुक्त गरेको छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको प्रमुखमा पूर्व अर्थसचिब रामेश्वर खनाललाई जिम्मा दिइएको छ ।
त्रिभुवन विश्वविद्यालय अनुदान आयागको प्रमुखमा डा परासर कोइराला र दलित आयोगको अध्यक्षमा मानबहादुर नेपालीलाई नियुक्त गरिएको छ। सुकुम्बासी आयोगमा शारदाप्रसाद सुवेदीलाई नियुक्त गरिएको छ।