मनपरी शुल्क वृद्धि गर्ने विद्यालयलाई कारबाही गर्न प्रम कार्यालयको निर्देशन

काठमाण्डु टुडे २०७१ असार २ गते ८:२२ मा प्रकाशित

काठमाण्डु, २ असार – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफूखुसी शुल्क लिने निजी विद्यालयमाथिको कारबाहीको विवरण सार्वजनिक गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

शिक्षा विभागले उच्चस्तरीय अनुगमन समितिको सिफारिशका आधारमा गत जेठ २२ गते शुल्क वृद्धि गर्ने निजी विद्यालय, ती विद्यालयका निरीक्षक र स्रोत व्यक्तिसमेतलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

वृद्धि भएका शुल्क हालसम्म फिर्ता नभएको र कुनै कारबाही नभएको तथा सामुदायिक विद्यालयमा पनि शुल्क लिइरहेको भन्ने गुनासाका आधारमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरोकारवालासँगको बैठक आयोजना गरी यस्तो निर्देशन दिएको हो ।

सो कार्यालयका सचिव शान्तराज सुवेदीले कारबाहीको यथार्थ विवरण सार्वजनिक गर्न र अनुगमनलाई प्रभावकारी बनाउन मन्त्रालयलाई निर्देशन दिनुभएको बैठकमा सहभागी अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिए ।

बैठकमा शिक्षा विभागका महानिर्देशक डा. लवदेव अवस्थीले जथाभावी गर्ने विद्यालयमाथि कारबाही गर्न परिपत्र गरिएको जानकारी गराएका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us