निर्माण भएको चार वर्षपछि बसपार्क सञ्चालन

काठमाण्डु टुडे २०७१ असार २ गते ५:४४ मा प्रकाशित

नुवाकोट, २ असार – बट्टारमा निर्माण भएको बसपार्क निर्माण सम्पन्न भएको चार वर्षपछि सञ्चालनमा ल्याइएको छ ।

पटकपटकको प्रयासपछि बसपार्क असार १ गतेबाट सञ्चालनमा ल्याइएको हो । राजधानी आउने–जाने सार्वजनिक यातायातका साधनहरू अनिवार्य रूपमा बसपार्क प्रवेश गराउनुपर्ने बनाइएपछि अहिले सवारीसाधन बसपार्क प्रवेश गर्न थालेको छ ।

बसपार्क सञ्चालनका लागि विदुर नगरपालिकाले दोस्रोपटक गरेको टेन्डरमा एकीकृत तादी विकास समाजको प्रस्ताव स्वीकृत भई बसपार्क सञ्चालनको जिम्मेवारी पाएको हो ।

समाजले नगरपालिकालाई आगामी आर्थिक वर्षदेखि वर्षमा रु १४ लाख ५० हजार तिर्नुपर्ने छ । बसपार्क सञ्चालनको जिम्मा पाएको एकीकृत तादी विकास समाजका अध्यक्ष लक्ष्मण श्रेष्ठका अनुसार लामो दूरीको ठूला बसले रु ३०, लामो दूरीको माइक्रोबसले रु २५, नगरमा चल्ने ठूलो बसले रु २५ र माइक्रोबसले रु २०, बसपार्कमा जाने साना गाडीले रु १०, मझौलाले रु २० र ठूला सामान ढुवानी गर्ने गाडीले रु ४० तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

विदुर नगरपालिकाको सहरी तथा वातावरणीय सुधार परियोजनाअन्तर्गत एसियाली विकास बैंकको रु एक करोड ९० लाख ऋण सहयोगमा बसपार्क निर्माण भएको हो ।

विदुर नगरपालिका–४ मा रहेको बसपार्क निर्माणका लागि स्थानीयले ३५ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

विदुर नगरपालिकाले स्थानीयसँग जग्गा लिने बेलामा गरेको सहमतिअनुसारको भौतिक संरचना भने निर्माण नभएको स्थानीयवासीको गुनासो रहेको छ ।

विदुर नगरपालिकाका कार्यकारी अधिकृत यमकान्त पाण्डेयले बसपार्क सञ्चालनमा आए पनि केही आवश्यक भौतिक पूर्वाधार निर्माण बाँकी रहेको त्यसमा नगरपालिकाले ध्यान दिएको बताए ।

अहिलेसम्म विदुर नगरपालिकाले एसियाली विकास बैंकलाई रु २३ लाख ब्याज तिरिसकेको छ । बसपार्क सञ्चालनमा नआउँदा नगरपालिकाले आफ्नो विकास बजेट कटाएर बैंकलाई ब्याज तिर्दै आएको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us