कैदी/बन्दीद्वारा कारागारभित्रै व्यवसाय सञ्चालन

काठमाण्डु टुडे २०७१ असार २ गते ४:०७ मा प्रकाशित

म्याग्दी, २ असार– जिल्ला कारागार म्याग्दीमा रहेका कैदीबन्दीले कारागारभित्रै व्यवसाय सञ्चालन गरेका छन् ।
कारागारभित्र विभिन्न कसुरमा सजाय भुक्तान गर्न बसेका कैदीबन्दीले समयको सदुपयोगसँगै आयआर्जनका लागि उत्पादन गरेका मुडालाई बजारीकरणका लागि समूहमार्फत निर्यात गर्ने व्यवसाय सुरु गरेका हुन् । बन्दीगृहमा रहेका १५ जना कैदीबन्दीले जनही ६ हजारको दरले रकम सङ्कलन गरी मुडा बिक्री केन्द्र सञ्चालन गरेको चौकिदार गोरे पुनले बताए ।

कैदीबन्दीले उत्पादन गरेका बाँसका मुडा समूहले खरिद गर्ने र मागअनुसार बाहिर निर्यात गर्ने गरेको पुनले बताए ।
हरेक व्यक्तिले आफूले उत्पादन गरेका सामग्री आफैं बिक्री गर्न कठिनाइ हुने र बजार नपाइने भएकाले समूहमार्फत निर्यात गर्न थालेको उनको भनाइ छ ।

कैदीबन्दीको सो समूहबाट अहिले बागलुङ र म्याग्दीका विभिन्न व्यवसायीले मुडा खरिद गरी लैजाने गरेका छन् । समूहले दुई महिनाको अवधिमा करिब ६ सय मुडा बिक्री गरेको जनाएको छ । उत्पादकबाट ३५० मा खरिद गरेका सामग्रीलाई समूहले रु ३ सय ९० सम्ममा बिक्री गर्ने गरेको बताएको छ ।

समूहलाई आम्दानी पनि हुने र बुन्ने व्यक्तिलाई पनि बजारको अभाव नहुने हुँदा दुवै पक्षलाई फाइदा पुगेको छ । जिल्लाको ग्रामीण भेगबाट बाँस खरिद गरी कारागारका अधिकांश कैदीबन्दीले समयको सदुपयोगसँगै आयआर्जनका लागि मुडा बुन्ने गरेको जेलर खगराज शर्माले जानकारी दिए ।

त्यस्तै कैदीबन्दीका चौकिदार पुनले १२ हजारको लगानीमा फ्रिज खरिद गरी कारागारभित्रै चिसो पेयपदार्थ, चाउचाउलगायत सरसफाइका सामग्रीसमेत बिक्री गर्दै आएको र सो व्यवसायबाट समयको सदुपयोगसँगै आम्दानीसमेत हुने गरेको बताए ।
केही कैदीबन्दीले बन्दीगृहभित्रै फर्निचर उद्योगसमेत सञ्चालन गरेर काष्ठजन्य सामग्री उन्पादन गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us