
नेपालगन्ज, २ असार– नेपालमा प्रतिहजार नवजात शिशुमा ३३ जनाको मृत्यु हुने गरेको पाइएको छ ।
नेपालगञ्जमा सार्वजनिक गरिएको एक तथ्याङकले एक हजार नवजात शिशुमध्ये ३३ जनाको मृत्यु हुने गरेको देखाएको हो । सुत्केरी हुने वातावरण दूषित हुँदा हुने संक्रमणबाट ४२ प्रतिशत र जन्मँदा कम तौलका कारण २९ प्रतिशत नवजात शिशुको मृत्यु हुने गरेको पाइएको छ ।
त्यसैगरी कमजोर स्वास्थ्य अवस्था भएका आमाको गर्भमा भएका शिशुको निसास्सिएर मृत्यु हुने गरेको तथ्याङ्कमा छ । तथ्याङ्कका अनुसार प्रत्येक एक लाख गर्भवती महिलामध्ये २०० को सुत्केरी हुने क्रममा वा त्यसपछि ज्यान जाने गरेको छ ।
सरकारले सन् २०१५ सम्ममा प्रति दशहजार शिशु मृत्यु दरदलाई १६ मा झार्ने लक्ष्य लिएको छ । त्यसका लागि नवजात शिशु स्याहार तथा सुरक्षित मातृत्व स्वास्थ्य कार्यक्रम अन्तर्गत विकट गाउँवस्तीमा ‘बर्थ सेन्टर’ स्थापनाको काम सुरु भइसकेको छ ।
यस्तै नवजात शिशुको मृत्युदर घटाउन सरकारले सेभ द चिल्ड्रेनसहित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु सँगको सहकार्यमा नवजात शिशु स्याहार र सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत देशभर ‘एभ्रिवन’ अभियानसमेत सञ्चालनमा ल्याएको छ ।