जसले दिन्छ राष्ट्रपति, झलनाथ उसकै पछि

काठमाण्डु टुडे २०७१ असार २ गते ३:३६ मा प्रकाशित

काठमाण्डु, २ असार– एमाले अध्यक्ष झलनाथ खनाल बाहिरबाट हेर्दा नवौं महाधिवेशनबाट नेतृत्व हत्याउने दाउमा रहेका वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका JN_khanal1नेता केपी ओली दुवै समूहको पक्षमा छैनन् ।
सर्वसम्मत भए दोश्रो कार्यकाल पुन: अध्यक्ष दोहोर्‍याउने मनस्थितिमा रहेका खनाल आफ्नो योजना सफल नहुने भएपछि तटस्थजस्तो देखिन्छन् । तर भित्रि रुपमा भने उनले आफूलाई राष्ट्रपति बनाउन सहयोग गर्नेलाई अध्यक्षमा सघाउने मनसाय प्रकट गरेका छन् ।

स्रोतका अनुसार नेपाल र ओली दुवैलाई भेटेर उनले आफूलाई राष्ट्रपति बनाउन सघाए नवौं महाधिवेशनमा अध्यक्षमा जिताउने बचन दिएका छन् । खनालनिकट स्रोतका अनुसार ओलीले पार्टी अध्यक्ष, प्रधानमन्त्री र राष्ट्रपति आफैं हुने बताएपछि खनाल उनीसँग टाढिएका छन् ।

बालकोटस्थित ओली निवासमा केही दिनअघि भएको भेटमा ओलीले उनलाई नेतृत्व हस्तान्तरणका लागि नि:सर्त अघि बढ्न सुझाव दिएका थिए ।

नेपाल भने खनाललाई राष्ट्रपति मान्न तयार छन् । नेपालले सार्वजनिक रुपमा पटकपटक आफू सर्वसम्मत अध्यक्ष भए ओलीलाई प्रधानमन्त्री र खनाललाई राष्ट्रपति बनाउने बताउँदै आएका छन् । नेपालले आफू विक्रम सम्वत २०८० सालअघि राष्ट्रपति नहुने पनि प्रष्ट पारेका छन् ।

महाधिवेशनबाट नेतृत्व लिन पार्टीका दुई गुटबीच अस्वस्थ्य प्रतिस्पर्धा र आरोप प्रत्यारोप चलेकामा सार्वजनिक रुपमा खनालले असन्तुष्टि जनाउने गरेका छन् । तर विगतमा आफूसँग नजिक रहेका योगेश भट्टराई, ठाकुर गैरे लगायतका युवा नेताहरुलाई भित्रि रुपमा उनले नेपालको चुनाव प्रचारमा खटाएका छन् ।

झलनाथ स्वत: वरिष्ठ नेता
यसैबीच एमालेको नयाँ विधानले पार्टीका निवर्तमान अध्यक्षलाई स्वत: वरिष्ठ नेताका रुपमा प्रस्ताव गरेको छ ।
एमालेमा हाल विधानत: वरिष्ठ नेता नभए पनि पूर्वमहासचिव माधवकुमार नेपाललाई केन्द्रीय कमिटीको निर्णयका आधारमा दोस्रो वरियतामा राखिएको छ । महाधिवेशनले नयाँ अध्यक्ष चयन गरेमा वर्तमान अध्यक्ष झलनाथ खनाल अब स्वत: वरिष्ठ नेता हुने भएका छन् । प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीका अनुसार संशोधनका लागि प्रस्ताव गरिएको विधानमा अध्यपछिको दोश्रो वरियतामा रहने गरी वरिष्ठ नेताको व्यवस्था गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us