अमेरिका उड्नुअघि प्रधानमन्त्रीले भने, ‘स्वास्थ्य लाभ गरी छिट्टै फर्कन्छु’

काठमाण्डु टुडे २०७१ असार २ गते १५:०८ मा प्रकाशित

काठमाण्डु, २ असार– प्रधानमन्त्री सुशील कोइराला स्वास्थ उपचारका सिलसिलामा सोमबार अमेरिका गएका छन् ।
Sushil-Koiralaफोक्सोमा दाग देखिएपछि चिकित्सकको सल्लाहअनुसार कोइराला उपचारका लागि अमेरिका गएका हुन् । ७५ वर्षीय कोइरालालाई फोक्सोको क्यान्सर भएको आशंका गरिएको छ ।

तर प्रारम्भिक अवस्थामा भएकाले क्यान्सर नै भए पनि शल्यक्रियापछि निको हुने चिकित्सकको भनाइ छ ।

प्रधानमन्त्री कोइरालाका साथ निजी चिकित्सक डा. करवीरनाथ योगी, पारिवारिक सदस्य अतुल कोइराला, मृदुला कोइराला र सुरक्षा अधिकृत प्रकाश देउजा अमेरिका गएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कोइरालाले यसअघि न्यूयोर्कस्थित स्लोन मेमोरियल केटरिङ क्यान्सर सेन्टरमा बिहीबार स्वास्थ्य परीक्षण गराउनेछन् । अमेरिका उड्नुअघि विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कोइरालाले स्वास्थ्य लाभ गरी छिट्टै फकिर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले आफ्नो स्वास्थ्यबारे चासो र चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद दिएका छन् । ‘मेरो स्वास्थ्यप्रति चासो र चिन्ता लिनुहुने समस्त स्वदेशी र विदेशी दिदीबहिनी तथा दाजुभाइहरुप्रति कृतज्ञता प्रकट गर्दै’, विज्ञप्तिमा भनिएको छ, स्वास्थ्य लाभ गरी छिट्टै फर्कने विश्वास व्यक्त गर्दछु ।’

अत्याधुनिक चिकित्सा पद्धति, प्रविधि र दक्ष चिकित्सकसहितको सुविधा सम्पन्न अस्पतालमा परीक्षण हुने भएकाले चिन्ता नगर्न भनेका छन् ।

उनले आफ्नो अनुपस्थितिमा सरकार सञ्चालनमा साझेदार दलबीच समन्वय कायम रहने तथा संसद र संविधानसभाका बैठक चल्ने विश्वास समेत व्यक्त गरेका छन् । यसैबीच कोइरालाले आफ्नो अनुपस्थितिमा उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us