कतारमा नेपालीलाई मृत्यु दण्डको सजाय

काठमाण्डु टुडे २०७१ असार २ गते २:४१ मा प्रकाशित

कतार– कतारको एक अदालतले हत्या आरोपमा एक नेपालीलाई मृत्यु दण्डको फैसला सुनाएको छ ।
स्याङजाको पौवही गौढ–१ का कुशल कार्कीलाई फौजदारी मुद्धाको प्रारम्भिक सुनुवाइ गर्ने क्रिमिनल कोर्टले सो सजाय सुनाएको हो ।

उनीमाथि नेपालीकै हत्या गरेको अभियोग छ । अदालतले २० अक्टोबर २०१२ मा महोत्तरी जलेश्वर–१३ का मोहम्मद इर्शाद अन्सारीको हत्या गरेको आरोप लगाएको छ । अदालतले मृत्यु दण्डको फैसलाबारे कतारस्थित नेपाली दूतावासलाई औपचारिक जानकारी गराएको छ ।

कतारका लागि नेपाली कार्यबाहक राजदूत गणेशप्रसाद ढकालले त्यसबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकिएको बताए । अभियुक्त र हत्या भएका दुवै नेपाली भएकाले परिवारबीच सहमति भए मृत्युदण्डबाट जोगिने सम्भावना छ ।

मेलमिलापका लागि समेत प्रयास थालिएको ढकाललले जानकारी दिए । कतारको कानुनअनुसार पीडित परिवारले पीडक पक्षले दिएको ‘ब्लडमनी’ स्वीकार गरे अदालतले माफी दिन सक्छ

। ब्लडमनीबापत दुई लाख रियाल अर्थात नेपाली ५२ लाख रुपैयाँ दिनुपर्छ । दूतावासका अनुसार हत्या अभियोगमा आधा दर्जनभन्दा बढी नेपाली कतारी जेलमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us