नेपाली कागजको डायरी कोरियामा लोकप्रिय

काठमाण्डु टुडे २०७१ असार २ गते २:२६ मा प्रकाशित

म्याग्दी, २ असार– म्याग्दीको राम्चे गाविस–२ मा नेपाली कागजबाट निर्माण भएको डायरी विदेश निर्यात हुन थालेको छ ।
राम्चेको नांगीस्थित हिमाञ्चल हातेकागज तथा हस्तकला उद्योगमा निर्मित डायरीको दक्षिण कोरियामा निर्यात हुन थालेको हो ।

उद्योग व्यवस्थापक चित्र तिलिजा पुनका अनुसार नेपाली कागजबाट निर्मित डायरी बलियो र टिकाउ हुने भएकाले दक्षिण कोरियाबाट माग आएपछि निकाशी हुन थालेको हो ।
अनुसार नमुनाका रुपमा कोरिया पठाइएको डायरी त्यहाँका ग्राहकले मन पराएपछि थप तीन हजार थान डायरीको माग आएको छ । नेपाली कागजका लेखिएको अक्षर धेरै वर्षसम्म नमेटिने भएकाले कोरियाबाट माग आएको उद्योग व्यवस्थापनले जनाएको छ ।

गाउाको जङ्गलमा खेर गइरहेको लोत्ताको सदुपयोग गरी कागज उत्पादन र रोजगारी सृजना गर्ने उद्देश्यले स्थानीय समुदायले विसं २०७० मा उद्योग स्थापना गरेका थिए । दक्षिण कोरियाका साथै अस्ट्ेरलियामा पनि सामाजिक सञ्जाल र इन्टरनेटमार्फत डायरीको बजारीकरण भइरहेको छ ।

उद्योगमा स्थानीय ११ जना महिलाले रोजगारी पाएका छन् । घरायसी कामबाट बचेको समयमा कागज र डायरी बनाएर भएको आम्दानीले घरखर्च चलाउन सहज भएको उद्यमी कुलमाया चोचाङ्गीले बताइन् । उनीहरुले दैनिक प्रतिव्यक्ति ३ सयका दरले ज्याला पाउने गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us