प्रजनन स्वास्थ्य अभियानमा किशोरकिशोरी

काठमाण्डु टुडे २०७१ असार २ गते २:१९ मा प्रकाशित

नेपालगन्ज, २ असार– नेपाल परिवार नियोजन संघ, परिवार नियोजन तथा प्रजनन स्वास्थ्य सेवा अभियानमा बाँकेका किशोरकिशोरीको सहभागिता बढेको छ ।

प्रजनन स्वास्थ्यमा किशोरकिशोरीको अधिकारलाई संरक्षण गर्नुका साथै सो विषयमा उनीहरुलाई शिक्षित गरी यौन तथा प्रजनन स्वास्थ्यमा देखिएका जटिलता कम गर्न सकिने उद्देश्यका परिवार नियोजन संघ, बाँकेले किशोरकिशोरीको सहभागितालाई प्राथमिकतामा राखेपछि उनीहरुको सङ्ख्या बढेको हो ।

विगतमा जिल्लाको जनसङ्ख्या वृद्धिदर ३.१६ बाट २.४५ मा झार्नमा परिवार नियोजन तथा प्रजनन स्वास्थ्य अभियानमा किशोरकिशोरीको सहभागिता अर्थपूर्ण रहेको छ ।

परिवार नियोजन तथा प्रजनन स्वास्थ्य अभियानमा किशोरकिशोरीको सहभागिता बढेसँगै महिलाको यौन तथा प्रजनन स्वास्थ्यमा क्रमिक सुधार भएको संघको तथ्याङ्कले देखाएको छ ।

अभियानमा करिब १७५ किशोरकिशोरीको सहभागिता रहेको छ भने २० देखि २४ वर्षका युवाहरुको सहभागिता पनि सोही हाराहारीमा रहेको बताइएको छ ।
मुस्लिम समुदायको ठूलो जनसङ्ख्या रहेको जिल्लामा परिवार नियोजन तथा प्रजनन स्वास्थ्य सेवा सो समुदायमा सहज बनाउन चुनौती देखिएको अवस्थामा संघले मुिस्लम समुदायका किशोरकिशोरीलाई समेत अभियानमा समेट्ने रणनीति तय गरेको संघका प्रमुख अनिल बस्नेतले बताए ।
मुस्लिम धर्मले परिवार नियोजनको विषयलाई मान्यता नदिएकाले यौन तथा प्रजनन स्वास्थ्य र त्यससँग अन्तरसम्बन्ध गाँसिएको परिवार नियोजनका सकारात्मक पक्षमा सो समुदायलाई परामर्श दिन मुस्लिम किशोरीलाई अभियानमा सहभागी गराइएको हो ।

तथ्याङ्कअनुसार गत वर्ष सङ्घबाट सुरक्षित गर्भपतन सेवा लिनेमा १५ देखि १९ वर्षका १२ जना किशोरी उमेर समूह भएकाले पनि यौन तथा प्रजनन स्वास्थ्यका विषयमा किशोरकिशोरीको व्यापक सहभागिता बढाउनुपर्ने आवश्यकता देखिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us