शासकीय स्वरुपबारे दलहरु पूरानै अडानमा

काठमाण्डु टुडे २०७१ असार १ गते १५:२० मा प्रकाशित

काठमाण्डु, १ असार– दलहरुले संविधानसभामा शासकीय स्वरुपबारे आफ्ना पूरानै अडान दोहोर्‍याएका छन् ।
संविधानसभामा तत्कालीन राज्यको शासकीय स्वरुप निर्धारण समितिको प्रतिवेदनमाथिको छलफलमा प्रमुख दलका सभासदले अघिल्लो संविधानसभामा आफ्नो पार्टीले राखेको अडान दोहोर्‍याएका हुन् ।

आइतबारको छलफलमा कांग्रेस सभासद रामचन्द्र पौडेलले संसदबाट चुनिने कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्रपति हुनुपर्ने बताए । राजनीतिक स्थायित्वका नाममा अन्य कुनै शासन प्रणाली अपनाउन नसकिने उनको भनाइ थियो ।
एमाले सभासद भरतमोहन अधिकारीले प्रत्यक्ष निर्वाचित कार्यकारी र आलंकारिक राष्ट्रपति हुनुपर्ने बताए । निर्वाचन प्रणालीमा भने हालको जस्तै मिश्रित प्रणाली ठीकै भए पनि
त्यसमा सुधारको आवश्यकता औंल्याए । एमाओवादी सभासद शक्ति बस्नेतले कार्यकारी राष्ट्रपति भए मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्ने बताए । राप्रपा नेपालका सभासद कमल थापाले शासकीय स्वरुप नै संविधानको आत्मा भएकाले सबै शक्ति अटाउने शासकीय स्वरुप हुनुपर्ने उल्लेख गरे ।
तत्कालिन मौलिक अधिकार तथा निर्देशक सिद्दान्त समितिको प्रतिवेदनमा रहेका सहमति र  असहमतिका विषयमा छलफल  सकिएपछि आइतबारदेखि शासकीय स्वरुप निर्धारण समितिको प्रतिवेदनमा छलफल थालेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us