प्रधानमन्त्री अमेरिकाबाट नर्फेसम्म २६ सभासद् मनोनयन नहुने

काठमाण्डु टुडे २०७१ असार १ गते १५:१० मा प्रकाशित

काठमाण्डु, १ असार– प्रधानमन्त्री सुशील कोइराला अमेरिकाबाट नफर्किएसम्म संविधानसभामा २६ सभासद् मनोनयन नहुने भएको छ ।
प्रधानमन्त्रीले २६ सभासद मनोनयनका विषयमा छलफल गर्न आइतबार बोलाएको बैठकमा एमाले सहभागी नभएपछि मनोनयनमा ढिलाइ हुने भएको हो ।

क्यानसरको उपचारका लागि अमेरिका जानु एक दिनअघि कोइरालाले सरकारी निवास बालुवाटारमा २६ सभासदमा सहमति जुटाउन प्रमुख दलको बैठक बोलाएका थिए । तर नवौं महाधिवेशनको चटारोमा रहेको एमाले नेताहरु कार्यव्यस्तताको कारण देखाउँदै बैठकमा गएनन् ।

]स्रोतका अनुसार महाधिवेशनअघि नाम सिफारिस गर्ने विषयमा विवाद हुने भएपछि एमाले नेताहरुले सभासद मनोनयन महाधिवेशनपछि मात्र गर्नुपर्ने सन्देश प्रधानमन्त्रीसमक्ष पठाएका छन् ।

एमालेले नाम दिन नसक्ने बताएपछि प्रधानमन्त्री कोइरालाले पार्टीले पाउने ९ सभासद मनोनयन गरेर अमेरिका जाने सोच बनाएका थिए । तर आफ्नो पार्टीको कोटाका सभासद मात्र मनोनयन गर्दा राम्रो सन्देश नजाने भन्दै पार्टीभित्रैबाट दबाब आएपछि कोइराला पछि हटेको स्रोतले जनाएको छ ।
यसैबीच दलहरु २६ सभासद मनोनयनमा ढिलाइ हुनुमा सार्वजनिक रुपमै एकअर्काविरुद्ध उत्रिएका छन् ।

क्रान्तिकारी पत्रकार संघ दाङले आइतबार घोराहीमा गरेको पत्रकार घेटघटमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेका कारण सभासद मनोनयन प्रक्रियामा ढिलाइ भएको आरोप लगाए ।

प्रधानमन्त्री सुशील कोइरालाले अमेरिका जानुअघि नै सभासद मनोनयन गर्न चाहेको भन्दै उनले प्रधानमन्त्रीले आइतबार बोलाएको बैठकमा एमाले सहभागी नभएका कारण तत्काल सभासद मनोनयन हुन नसक्ने परिस्थिति आएको बताए ।
यसैबीच काँग्रेस उपसभापति रामचन्द्र पौडेलले एमाले र एकीकृत माओवादीका कारण २६ सभासद मनोनयन हुन नसकेको बताए । चितवनको भरतपुर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले ती दुई दलले नाम नदिएका कारण मनोनयनमा ढिलाइ भएको दाबी गरे ।

प्रधानमन्त्रीको अमेरिका भ्रमणअघि नै सभासद् मनोनयन र संवैधानिक निकायमा नियुक्ति गरिसक्ने बताइए पनि एमाले र एमाओवादीले सहयोग नगरेको गुनासो उनले गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us