पाँच कम्युनिष्ट पार्टीबीच एकता प्रक्रिया सुरु: प्रचण्ड

काठमाण्डु टुडे २०७१ असार १ गते १४:४७ मा प्रकाशित

दाङ, १ असार– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहित पाँच वटा कम्युनिष्ट समूहसँग पार्टी एकताको prachandaप्रक्रिया सुरु भएको बताएका छन् ।
क्रान्तिकारी पत्रकार संघले आइतबार घोराहीमा गरेको पत्रकार भेटघाटमा प्रचण्डले पाँच पार्टीबीच आइतबार भएको बैठकले तत्कालका लागि कार्यगत एकता र पछि वैचारिक छलफल गर्दै पार्टी एकता गर्ने सहमति भएको बताए ।
‘माओवादी धारका पाँच पार्टीबीचको औपचारिक बैठकले हाललाई कार्यगत एकता गर्ने सहमति गरेको छ’, प्रचण्डले भने , ‘पछि वैचारिक छलफल गर्दै पार्टी एक बनाउने कुरा भएको छ ।’
आफ्नो पार्टी एमाओवादी, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, मातृका यादव नेतृत्वको नेकपा (माओवादी) परी थापा नेतृत्वको नेकपा एकीकृत र मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच एकता हुने उनले बताए । यी सबै पार्टीबीच आइतबार बिहान नेकपा–माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा पार्टी एकताबारे पहिलो बैठक भएको थियो ।

बैठकले आगामी असार ७ गते एमाओवादी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बैठक बसेर कार्यगत एकताको आधार ठोस  गर्ने सहमति भएको नेकपा एकीकृतका नेता परि थापाले जानकारी दिए ।

बाबुरामसँगको संघर्षले उर्जा
अर्को फरक प्रसंगमा उनले आफू र वरिष्ठ नेता बाबुराम भट्टराईबीचको वैचारिक संघर्षले पार्टीलाई कमजोर नभई बलियो बनाएको दाबी गरे । उनले बाहिर चर्चाभएजस्तो विवाद पार्टीमा नरहेको पनि बताए । वैचारिक संघर्षले पार्टीलाई कमजोर बनाएको नभई उर्जा दिएको दाबी उनको थियो ।

उनले पार्टीले सशस्त्र जनयुद्धको सफल नेतृत्व गर्न र अघिल्लो संविधानसभा निर्वाचनमा पहिलो पार्टी बनाउन बाबुरामसँगको संघर्षकै कारण सकिएको तर्क गरे । वैचारिक संघर्षबिना गतिशील पार्टीको जीवन नरहने उनले बताए ।

पार्टीको मगरात राज्य समिति स्तरीय प्रशिक्षणमा सहभागी हुन प्रचण्ड उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, नेताहरु टोपबहादुर रायमाझी, नन्दकिशोर पुन, जनार्दन शर्मा, चन्द्र खनालगायत नेताका साथ दाङ पुगेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us