बन्ने भो पूर्व–पश्चिम बिद्युतीय रेलमार्ग

काठमाण्डु टुडे २०७१ असार १ गते १३:१२ मा प्रकाशित

काठमाण्डु, १ असार – भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले सरकारले राष्ट्रिय गौरवको आयोजना पूर्व पश्चिम बिद्युतीय रेलमार्गको आइतवार सर्लाहीको रानीगंजमा शिलान्यास गरेका छन् ।

पहिलो चरणमा बदिर्वास सिमरा खण्डमा निर्माण हुने १ सय ८ किलोमिटर रेलमार्गको ट्रयाक बनाउने कार्यको शिलन्यास गरिएको हो । कामको सुरुवात कालिन्जोर नदीको भंगालो माथि इन्भेन्टमेन्ट” बनाएर हुंदैछ । पूर्व –पश्चिम तथा काठमाडौं –पोखरा रेलमार्ग निर्माण गर्न ८ खर्ब रुपैयाँ खर्च लाग्ने ज्यादै महत्वाकांक्षी र महँगो आयोजना भएकाले खण्डखण्डमा निर्माण गरिने भएको छ ।

मन्त्री निधिले कसैले कल्पना सम्म नगरेको विकासको काम हुन थालेको बताए । ”धेरै ठूलो विकासको काम हुन गइरहेको छ,” निधिले भने, ”देश विकासको लागि पूर्वाधार विकास अपरिहार्य हो । यसले रोजगारी, ब्यापार वृद्धि गर्नुका साथै सस्तो र थोरै समयमा लामो दुरी तय गर्न सकिन्छ ।”

राष्ट्रको मुहार फेर्ने भएकाले सरकारले राष्ट्रिय गौरवको आयोजना किटान गरेको उल्लेख गर्दै निधिले नेपाली बजेटवाटै काम थालिएको वताए । लोकतन्त्र भाषणमा मात्र नभई विकासमा अनुवाद गर्ने अठोट सहित सरकार अघि बढेको उनको भनाई थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us