
काठमाण्डु , १ असार – संविधानसभा व्यवस्थापिका–संसद्अन्तर्गतको सुशासन तथा अनुगमन समितिको आज बसेको बैठक उपसमिति बनाउने छलफलमा सीमित भएको छ ।
समितिको भावी कार्यक्रम सम्बन्धमा भएको छलफलमा बोल्ने अधिकांश सभासद्ले सुशासन समिति अन्तर्गतको काम विभाजनका लागि उपसमिति बनाई अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायसँग सहकार्य गरी अघि बढ्नुपर्नेमा सभासद्हरुले जोड दिएका छन् ।
समिति बनाउने बारेमा व्यापक छलफल भए पनि समितिका सदस्य रहेका पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, शेरबहादुर देउवा, झलनाथ खनाल र डा. बाबुराम भट्टराई उपस्थित नभएका कारण बैठक बिना निष्कर्ष टुङ्गिएको हो ।
बैठकमा सभासद्हरु अमनलाल मोदी, हर्कबोल राई, अर्जुननरसिंह केसी, उपेन्द्र यादव, विजयकुमार गच्छदार, नरसिंह चौधरी, मिलनकुमार राजवंशी लगायतले बोलेका छन् ।