पूर्वराजा वीरेन्द्रको विदेशी खातामा ४५ हजार ४५ बेलायती पाउण्ड सम्पत्ति

काठमाण्डु टुडे २०७१ असार १ गते ११:४७ मा प्रकाशित

काठमाण्डु, १ असार – नेपाल ट्रष्टले पूर्वराजा वीरेन्द्र र उनको परिवारको नाममा विदेशमा ४५ हजार ४५ बेलायती पाउण्ड मात्र रहेको खुलासा गरेको छ ।

ex king birendraजानकारी अनुसार विदेशमा ४५ हजार ४५ पाउण्ड र १० हजार नेपाली रुपैयाँ चल सम्पत्ति भेटिएको थियो । पूर्व राजपरिवारका सदस्यको नाममा रहेको चल अचल सम्पत्ति नेपाल ट्रष्टमा ल्याउन सम्पत्ति खोजी सुरु भएको थियो ।

राष्ट्र बैंक र परराष्ट्र मन्त्रालयमार्फत विभिन्न बैंक तथा निकायमा पूर्वराजा विरेन्द्र र उनको परिवारको नाममा सम्पत्ति भए नभएको खोजी गरिएको थियो ।

ट्रष्टका सचिव श्रीधर गौतमका अनुसार नबिल बैंकमा १ लाख ४४ हजार ४७२, होटल अन्नपूर्णमा ३० हजार ७२० र नेपाल औद्योगिक विकास नियममा ६ हजार ६५० कित्ता शेयर भेटिएको छ ।

यस्तै काठमाडौंसहित धादिङ, सिन्धुपाल्चोक लगायतका जिल्लामा पाइएको केही जग्गा ट्रष्ट नाममा ल्याइएको छ भने केही कानुनी प्रक्रियामा छन् ।

नेपाल ट्रष्टको कार्यालयले स्वर्गीय राजपरिवारको सम्पत्ती पत्ता लगाउनेलाई पुरस्कार दिने व्यवस्था गर्न ऐनमा संसोधन गर्नुपर्ने बताएको छ ।

नेपाल ट्रष्ट कार्यविधि २०६६ मा सम्पत्ती पत्ता लगाउनेलाई पुरस्कार दिइने उल्लेख भएपनि नेपाल ट्रष्ट ऐन २०६४ मा पुरस्कारबारे केही उल्लेख नभएकाले संसोधन गर्नुपर्ने नेपाल ट्रष्टको कार्यलयका सचिव श्रीधर गौतमले बताए ।

नेपाल सरकार नेपाल ट्रष्टको कार्यालय दरबारमार्ग काठमाडाौंबाट जारी गरिएको प्रेस विज्ञप्तिः

नेपालको अन्तरिम संविधान २०६३ को भाग २३, धारा १५९ मा तत्कालिन राजा वीरेन्द्र्र, रानी ऐश्वर्य र निजहरुको परिवारको सम्पत्ति नेपाल सरकार मातहतमा ल्याई ट्रष्ट बनाएर राष्ट्र हितमा प्रयोग गरिने व्यवस्था भए मुताविक  नेपाल ट्रष्ट ऐन, २०६४ बनेको र उक्त ऐनको दफा ३ बमोजिम नेपाल ट्रष्टको स्थापना भएको, सोही ऐनको दफा ४ अनुसार यस ट्रष्टमा विभिन्न चल र अचल सम्पत्तिहरु प्राप्त हुने व्यवस्था छ ।

स्व. राजा वीरेन्द्र्र, रानी ऐश्वर्य र उनको परिवारको नाउँमा स्वदेशमा मात्र होइन विदेशमा समेत गरी ठूलो धनराशी रहेको हुनु पर्दछ भन्ने जन अपेक्षा भएको र सो धनराशीबाट मुलुकको सामाजिक, आर्थिक विकासमा टेवा पुग्ने विश्वास गरिएको भए तापनि हालसम्म चल सम्पत्तिको रुपमा स्वदेशमा नगण्य (करीब ४५०४५ वेलायती पाउन्ड र १०,००० नेपाली रुपैयाँ) रकम मात्र प्राप्त भएको र हाल  बैंक तथा होटेलको (नेविल बैंक लिमिटेडको १,४४,४७२ कित्ता, नेपाल औद्योगिक विकास निगम (NIDC) को शेयर ६७५० कित्ता तथा होटल डेला अन्नपूर्णको ३०,७२० कित्ता) मात्र प्राप्त भएको छ । लिज तथा भाडा आदिबाट २०६४ साल देखि २०७१ बैशाखसम्म उठेको रु.२४७९२५८४३।५६ मात्र नेपाल ट्रष्टको कोषमा रहेको छ ।

अचल सम्पत्तिको हकमा गत वर्षसम्म जम्मा ६२४४ रोपनी ७ आना १ पैसा ३ दाम जग्गा प्राप्त भएको थियो । सो जग्गामध्ये पोखरा, चितवन, काठमाडौं, हेटौंडा आदि ठाउँहरुमा बंगला तथा भवन आदि संरचनाहरु रहेका छन् । यस वर्ष नेपाल ट्रष्टको कार्यालयले सघन सम्पत्ति खोजविन कार्यक्रम सञ्चालन गरी यस कार्यालयबाटै ४–५ जनासम्मको कर्मचारी टोली खटाई ४–५ जिल्लामा अचल सम्पत्ति खोजी गर्दा धादिङ जिल्लामा १५,१०१–११–२–१, नुवाकोट जिल्लामा १७२–२–०–१, काठमाडौं जिल्लामा ११३२५–२–३–३ तथा सिन्धुपाल्चोक जिल्लामा २७–१३–१–१ गरी कुल २६,६२६ रोपनी १३ आना ३ पैसा ३ दाम जग्गा फेला पारेको जसमध्ये धादिङ्ग र नुवाकोट जिल्ला गरी जम्मा १५२७३ रोपनी १३ आना २ पैसा २ दाम जग्गा नेपाल सरकार मन्त्रिपरिपषद्को मिति २०७१।२।२१ को निर्णयले नेपाल ट्रष्टमा आई सकेको र बाँकि काठमाडौं र सिन्धुपाल्चोक जिल्लाको ११,३५३ रोपनी १ पैसा जग्गा नेपाल ट्रष्टको संचालक समितिको ३० औं बैठकले निर्णय गरी नेपाल ट्रष्टमा ल्याउने अन्तिम स्वीकृतिका लागि नेपाल सरकार म.प.मा सिफारिस भैसकेको छ । त्यसै गरी सम्पत्ति खोजविनकै क्रममा काठमाडौं दरबारमार्गस्थित होटल डेला अन्नपूर्णको थप १५, ३६० कित्ता शेयर तथा सो शेयर वापत नगद लाभांश रु. २,३०,४०० मात्र  मिति २०७१।२।२८ मा प्राप्त भैसकेको छ ।

यसरी स्व. राजा वीरेन्द्र र निजको परिवारको नेपालमा रहेको अचल सम्पत्ति त केही प्राप्त भएको र खोजविन कार्य अझै जारी रहेको छ, तर चल सम्पत्ति अपेक्षित रुपमा प्राप्त हुन सकेको छैन । विदेशको सम्पत्ति खोजविन सम्बन्धमा विभिन्न मुलुकहरुको बैंक तथा अन्य निकायहरुमा नेपाल राष्ट्र बैंक र परराष्ट्र मन्त्रालय मार्फत खोजी गर्दा हालसम्म कुनै पनि चल तथा अचल सम्पत्ति प्राप्त हुन सकेको छैन ।

यस प्रकार स्व. राजपरिवारको नाउँबाट ठूलो धनराशी प्राप्त हुने र सो धनराशीबाट बढे बढाएको सम्पत्तिबाट नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा लगानी गरी लोकहितको काम गर्ने उद्देश्य राखेको भएता पनि हालसम्म प्राप्त चल सम्पत्ति ज्यादै थोरै भएकाले लगानी निर्देशिका तयार गरी लगानी गर्न नसकिएको तर सम्पत्तिको संरक्षण र उपयोग सम्बन्धमा विभिन्न कामहरु भैरहेको छ ।

विभिन्न स्थानको जग्गा तथा निर्मित भौतिक संरचनाको सुरक्षा र संरक्षणको लागि नेपाली सेनाको सहयोग निरन्तर लिईंदै आएको छ भने केही स्थानहरुमा स्थानीय जनताहरुको अवरोध भएको भएता पनि प्राय सबै स्थानहरुमा तारवार, पर्खाल निर्माण तथा मर्मत सम्भारको कामहरु पनि निरन्तर भैइरहेको छ । उपयोग तर्फ विभिन्न जग्गाहरुको प्राविधिक अध्ययन गराई के कसो गर्दा अधिकतम फाइदा पुग्दछ भन्ने सम्बन्धमा प्रतिवेदनहरु प्राप्त भएका छन् । सो बमोजिम एउटा नमुना स्वरुप Request For Proposal (RFP)

सम्बन्धी कागजात पनि तयार गरी संचालक समितिले विभिन्न प्राविधिक मन्त्रालयको राय प्रतिक्रिया लिई पेश गर्ने भन्ने निर्णयानुसार राय प्रतिक्रिया माग भैरहेको अवस्था छ । संचालक समितिले प्राविधिक टोलीद्वारा प्रतिवेदन लिई उपयोग सम्बन्धी गुरुयोजना (Master Plan) बनाउन निर्देशन गरेकोले सोही अनुसार काम अगाडी बढाईएको छ । उपयोग सम्बन्धमा पनि कतिपय स्थानहरुमा स्थानीयको अवरोध आउने गरेको छ ।

नेपाल ट्रष्टमा आउनु पर्ने सम्पत्तिहरुको विषयमा सर्वसाधारणलाई कुनै जानकारी भएमा त्यस्तो जानकारी यस संस्थालाई उपलब्ध गराई यस संस्थाको उद्देश्य प्राप्तिका लागि सहयोग गरिदिनु हुन अनुरोध छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us