राज्य फेल भएको हो, हरेश नखाऊ !

काठमाण्डु टुडे २०७१ असार १ गते २:०८ मा प्रकाशित

slc

विगत वर्षमा जस्तै यसपाली पनि कक्षा १० को एसएलसी नतिजा आएको छ र पास फेलको चर्चा चुलिएको छ । एसएलसीको नियमित तर्फ सहभागि ३ लाख ९४ हजार ९ सय ३३ विद्यार्थीमध्ये ४३ दशमलव ९२ प्रतिशत विद्यार्थीमात्रै पास भएका छन् ।

५६ प्रतिशत विद्यार्थीले फेल हुनु परेको छ । त्यस्तै आंशिक तर्फ सहभागी १ लाख ३३ हजार ६ सय २६ मध्ये १० दशमलव ९२ प्रतिशतमात्रै पास भएका छन् बाकी ९० प्रतिशत यसपाली पनि असफल भएका छन् । पास भएकाहरुको चर्चा छ । परिवार खुसियाली मनाइरहेको छ । फेल हुनेहरु निराश भएका छन् ।

यसरी फेल हुनु नयाँ कुरा होइन । हरेक वर्ष लाखौँ विद्यार्थी यसरी फेल भइरहेका छन् र सरकारको आलोचना भइरहेको छ । असफल भएका विद्यार्थीले आत्तिनु पर्ने वा निराश हुनु पर्ने कारण छैन । उनीहरुले लाज मान्नु पर्दैन । लाज राज्यले मान्नु पर्छ । विद्यार्थी होइन, राज्य र राज्यका सम्पूर्ण शिक्षा संयन्त्रहरु फेल भएको हो ।

फेल हुने विद्यार्थीले केही जानेको छैन भन्ने हुदैँ होइन, उनीहरु आफ्नो क्षमता अनुसार अब्बल छन् । आफ्नो रुचीमा अब्बल छन् । विषयगत उद्देश्यका लागि सीमित समयमा लिइएको परीक्षामा उनीहरुले निश्चित अंक भारको उत्तर नदिएका कारण फेलको बिल्ला भिरेका हुन् । हरेश खानु पर्दैन । भरखर १५/१६ वर्ष उमेरका विद्यार्थीले हिंड्नु पर्ने जीवनको बाटो लामो छ । यहि एउटा असपफलताले जीवन सकिदैंन । हिंड्नु पर्ने बाटाहरु छोटिँदैनन् ।

विद्यालय शिक्षाको चर्चा सबैतिर एसएलसीका बेला एक पल्ट हुन्छ । त्यसपछि त्यो कसैको चासोमा पर्दैन । राज्यले हरेक वर्षजस्तो कुल बजेटको सबैभन्दा बढी १६ प्रतिशत बजेट शिक्षामा विनियोजन गर्छ र त्यसको ८० प्रतिशत शिक्षकको तलब भत्तामा खर्च हुन्छ । आम नागरिकको करबाट उठेको पैसाको तलब खाएर बसेका तिनै शिक्षकले पढाएका लाखौँ विद्यार्थी चाहि वर्षेनी फेल हुन्छन् । यतिबेला शिक्षकले पास भएका विद्यार्थीले बाडेंको लड्डुले मुख मीठा गर्नुको कुनै अर्थ छैन ।

किनभने आफूले पढाएका आधा भन्दा बढी विद्यार्थी असफल भएका छन् । असफलताका कारण उनीहरुमा हिनताबोध पैदा भएको हुन सक्छ । ती विद्यार्थीलाई शिक्षकले इमान्दार भएर भन्न सक्नु पर्छ, ‘प्रिय विद्यार्थी, तिमीसित भएको खास क्षमताको मैले पहिचान गर्न सकिन र तिमी फेल भयौ ।

मैले तिमीलाई पढाउन जानिन । तिमी होइन यो परीक्षामा म फेल भएको हो ।’ यतिधेरै विद्यार्थी फेल हुनुको नैतिक जिम्मेवारी शिक्षकले लिनु पर्छ । किनभने विद्यालय तहमा विद्यार्थीसित प्रत्यक्ष सम्पर्क गर्ने र दैनिक सिकाइमा संलग्न हुने व्यक्ति शिक्षक हो । शिक्षक जिम्मेवारीबाट पन्छिन मिल्दैन । ऊ विद्यार्थीलाई कक्षागत, विषयगत र तहगत शैक्षिक तथा राष्ट्रिय उद्देश्य पूरा गराउंछु भन्ने  प्रतिवद्धता सहित कक्षामा गएको हुन्छ । किन उसले आफ्नो दायित्व पूरा गर्न सकेन ?

यति ठूलो असफलतामा उसको भूमिका कति छ ? शिक्षकले जवाफ दिनु पर्छ । र जवाफ शिक्षा मन्त्री, मन्त्रालयका सचिव, पदाधिकारी, जिल्ला शिक्षा अधिकारी, प्रधानाध्यापक हरेकले दिनु पर्छ । किन विद्यार्थी यसरी फेल भएका छन् ? किन उनीहरु वर्षेनी एउटै गल्ती दोहोर्याएर आफूलाई बारम्बार असफल सावित गरिरहेका छन् ?

एसएलसीको आठ दशकको इतिहासमा धेरै विद्यार्थी असफलनै भएका छन् र त्यो २०७० साल सम्म कायम छ । हाम्रो सिकाइ शैली, परीक्षा प्रणाली, नीतिगत व्यवस्थालाई यही रुपमा लगिरहने हो भने भोलिका दिनमा अनुतीर्ण दर घट्नुको साटो बढ्ने छ । राज्यले असफल विद्यार्थीहरुका लागि कुनै विकल्प सोचेको छैन ।

जीवनोपयोगी सीपका लागि राज्यले गर्नु पर्ने लगानी गर्न सकेको छैन । कक्षा १० उत्तीर्ण र अनुत्तीर्ण विद्यार्थीमा कुनै पनि कुरा किन फरक छैन भने यी दुवैमा सीप छैन । यी दुवै जनशक्ति बजारमा बिक्न सक्दैनन् । फरक केमात्रै हो भने एसएलसी पास हुने अब कक्षा ११ मा भर्ना हुनेछन् भने दुई विषय असफल भएकाहरु मौका परीक्षाको तयारी र त्यसभन्दा बढी विषय असफल भएकाहरु कि कक्षा दोहोर्याउने तिर कि अरुनै काममा लाग्नेछन् ।

यसमा कुनै शंका छैन, सबैभन्दा बढी विद्यार्थी सामुदायिककानै छन् र फेल हुनेको संँख्या उनीहरुकै बढी छ । पौने ६ लाखले एसएलसी दिँदा निजीका झन्डै ७५ वा ८० हजार विद्यार्थीमात्रै सहभागि हुन्छन् । त्यसैले स्वाभावैले सामुदायिकको अनुतीर्ण दर बढी देखिन्छ । अनुतीर्ण हुनेमा पनी अंग्रेजी, गणित र विज्ञानमा सबैभन्दा बढी हुन्छन् ।

यसको कारण विषयगत शिक्षकको अभाव नै हो । देशभरका सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभाव छ । शिक्षक विद्यार्थी अनुपातका आधारमा शिक्षक व्यवस्थापन हुन सकेका छैनन् । दक्ष शिक्षकले अवसर पाएका छैनन् ।

त्रिभुवन विश्वविद्यलायले शिक्षा शास्त्र संकायमा वर्षेनी उत्पादन गर्ने जनशक्तिले पढाउने अवसर पाएको छैन । वर्षौ पुराना, आफूलाई कुनै नयाँ विषयमा अपडेट गर्न नचाहने आउटडेटेड अल्छी शिक्षकका भरमा विद्यालय चल्दै आएका छन् । यसो भन्दा सबैलाई अन्याय हुन्छ तर अधिकांशको अवस्था त्यही छ ।

सामुदायिक विद्यालयमा हुनु पर्ने जति कक्षा हुँदैन । राज्यले बेलामा पाठ्य पुस्तक पुर्याउन सकेको छैन । शिक्षण शैली पढ ! पढ !! पाराको एकोहोरो छ । विद्यार्थीसित अन्तरक्रिया अत्यन्त कम छ । विद्यालयको भौतिक सुविधा विस्तार र सुधार हुन सकेको छैन । तर पनि राज्यले शिक्षकको तलब भत्तामा कुनै कमी ल्याएको छैन । तलब खाएपछि आफ्नो दायित्व पूरा गर्नु पर्छ । शिक्षकले दायित्व पूरा गरेका छैनन् भन्ने गतिलो प्रमाण अनुतीर्ण भएका हजारौँ विद्यार्थीलाई हेरे पुग्छ ।

शिक्षक राजनीतिले ग्रस्त छन् । आफूलाई शिक्षकका रुपमा चिनाउनु भन्दा उनीहरु कुनै दलको कार्यकर्ता हुन पाएकोमा गर्व गर्छन् । सामुदायिक विद्यलायको व्यवस्थापन गतिलो हुन सकेको छैन । सरकारले जतिसुकै ठूला कुरा गरे पनि शिक्षा मन्त्रालयले आफू माताहतका निकायको अनुगमन र मूल्यांकन गर्न सकेको छैन ।

विद्यार्थी फेल हुनुमा मूलत यी सबै कुरा दोषी छन् । यसबाहेक झिनो प्रतिशत चाहि विद्यार्थी र तिनका अभिभावक पनि कारण हुन् । तर यो प्रतिशत अत्यन्त थोरै छ । विद्यार्थी र अभिभावकलाई दोष थोपरेर राज्यका जिम्मेवार व्यक्तिहरु विशेष गरी शिक्षा मन्त्रालय र यस अन्तर्गतका पदाधिकारी भाग्न पाउन्नन् ।

शिक्षा मन्त्रालयले शैक्षिक पद्यतीलाई कहिल्यै बदल्न चाहेको छैन । विश्व बजारको आवश्यकता र आफ्नो उत्पादनप्रति उसको कुनै वास्ता छैन । जुन दिनसम्म शिक्षा मन्त्रालय र राज्यको नेतृत्वले देशको शिक्षा सुधार जरुरी छ भन्ने महसुस गर्दैनन् त्यो दिनसम्म विद्यलाय तहको पढाइ सुध्रिदैन । उत्तीर्ण दर घट्ने मात्रै होइन उत्तीर्ण भएका विद्यार्थी पनि कामका ननिस्कने खतरा बढ्दै जाने पक्का छ ।

राज्य कक्षा १२ सम्मलाई विद्यालय तह बनाउने तामझाममा छ । त्यसो हुदाँ कक्षा १० को एसएलसी धेरै समय नरहन सक्छ । यसलाई क्षेत्रीय तहमा सञ्चालन गर्ने र कक्षा १२ को परीक्षालाई राष्ट्रिय बनाउने हो भने एसएलसीको हाउगुजी आफै हराएर जान्छ । यद्यपि अहिले कक्षा १२ को उत्तीर्ण दर एसएलसीको भन्दा पनि खराब र निराशाजनक छ । यी दुवै कुरालाई ध्यान दिएर एसएलसीको अनावश्यक हाउगुजी हटाउनै पर्छ । सस्तो व्यापार हुनबाट यसलाई जोगाउनै पर्छ ।


यतिखेर निराश र हताश विद्यार्थीलाई हौसला चाहिएको छ । तिनले आफूलाई सीप केन्द्रीत गर्नु जरुरी छ । पास भएको मार्कसिटमात्रै सबै कुरा होइन । यहाँ विद्यार्थी एक्लै फेल भएको छैन, एउटा प्रणालीनै असफल भएको छ । हरेक असफलताहरु सफलता बोकेर आउँछन् ।

एकपल्ट फेल हुदैमा निराश भइहाल्नु पर्दैन । उमेर र अवसर दुवै छन् । र सोच्नै पर्ने कुरा चाहि, जीवनमा हिंड्नु पर्ने बाटो लामो छ । त्यो यात्राका हरेक सेकेन्डमा नयाँ नयाँ परीक्षा दिइरहनु पर्छ र उत्तीर्ण हुनु पर्छ ।

एसएलसीभन्दा सयौँ गुण कडा परीक्षा समाना गर्नै बाँकी छ । त्यसैले अहिल्यै हरेश खानु पदैन, हरेश खाएर अघि बढ्न सकिन्न । उखानै छ, जीवनमा हरेश खाएका दिन अघि बढ्न सकिन्न । साभार http://edukhabar.com/slc-result-nepal

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us