काठमाण्डु, १ असार – भारतले नेपाली सेनाका लागि पठाएको विस्फोटक पदार्थ शनिबार काठमाडौं आइपुगेको छ ।
सैन्य तालमिको लागि समेत आवश्यक पर्ने विभिन्न हतियारहरुको गोलीगठ्ठा र तालिम तथा बम डिस्पोजल कार्यको लागि आवश्यक पर्ने विष्फोटक पदार्थ शनिबार प्राप्त गरेको सेनाले जनाएको नागरिक दैनिकमा खबर छ ।
‘विभिन्न हतियारको गोलीगठ्ठा, तालिम तथा बम डिस्पोजल कार्यको लागि आवश्यक पर्ने विष्फोटक पदार्थको केही खेप सामग्रीहरु शनिबार आइपुगेको छ,’ सैनिक जनसम्पर्क निर्देशनालयद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तीमा केही खेप विष्फोटक पदार्थहरु भनिए पनि त्यसभित्र के-के कति मात्रामा ल्याइएको खुलाइएको छैन। २००६ मंसिर ५ गते सरकार र तत्कालीन माओवादीबीच बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएपछि विदेशबाट सैन्य सामग्री ल्याउने कार्यमा प्रतिबन्ध लगाइएको थियो।
गत वर्षमात्र सरकारले सेनालाई सैन्य सामाग्री खरिद गर्ने अनुमति दिएको थियो, जसलगत्तै बैङ्लोरमा सम्पन्न नेपाल–भारत सुरक्षा बैठकमा नेपाली सेनाले मागे अनुसकारको सैन्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता भारतले जनाएको थियो।
ती सैन्य सामाग्रीमध्ये केही गत मंसिरमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनअघि भारतले नेपाललाई उपलब्ध गराएको थियो। बैंङ्लोर बैठकमा प्रतिबद्धता जनाएकोमध्ये बाँकी सैन्य सामग्री शनिबार आइपुगेको हो।