
काभ्रे, ३१ जेठ– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले विगतमा आफू राजतन्त्र फाल्न संघर्षको मैदानमा उत्रेका बेला लुकेर बस्नेले अहिले पार्टी नेतृत्व दाबी गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
पार्टीको नवौं महाधिवेशनमा अध्यक्षका प्रत्यासी रहेका नेपालले अर्का प्रत्यासी संसदीय दलका नेता केपी शर्मा ओलीप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । मदन भण्डारी अध्ययन केन्द्रले काभ्रेमा शनिबार भएको कार्यक्रममा उनले ओलीको नाम नलिई संघर्षको मैदानमा आउन डराउनेले अहिले नक्कली कुरा गरेर हिंडेको बताए ।
परिवर्तनका लागि भएका महत्वपूर्ण आन्दोलनमा आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै नेपालले नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित गर्न कार्यकर्तालाई आग्रह गरे । ‘राजतन्त्र फालेर गणतन्त्र ल्याउन
कोही सडकमा नआउँदा माधव नेपालले नेतृत्व गरेको थियो’, उनले भने, ‘अहिले दुई चार कुरा लेखेर, ठूला गफ गरेर र नक्कली कुराले पार्टीमा केही चल्दैन ।’ उनले नक्कली कुरा गरेर जनमत आकर्षित गर्ने जमाना अन्त्य भइसकेको टिप्पणी पनि गरे ।
उनले पार्टीभित्र फोहोर मैला भित्रिएको र स्वार्थीहरुले नेतृत्व कब्जा गर्न अवसरवादी गठबन्धन गरेको भन्दै विकृति अन्त्य गर्न आफ्नो नेतृत्व आवश्यक रहेको दाबी गरे । उनले आफूमा पार्टी चलाउन सक्ने खुबी र क्षमता रहेको भन्दै नेतृत्व पाए राष्ट्रिय राजनीतिमा तरंग ल्याइदिने जिकिर गरे ।
उनले ओली पक्षले पार्टीमा गुटबन्दी गरेको आरोप लगाए । गुट उपगुटका आधारमा अरुलाई सिध्याउँछु भन्नेहरु आफैं सिद्धिने उनको भनाइ थियो । अर्का नेता सुरेन्द्र पाण्डलेले ओली पक्षले अरुको विचार बन्द गर्ने तानाशाही प्रवृत्ति देखाएको आरोप लगाए । राजाको तानाशाही फाल्न सफल भएका आफूहरु पार्टीभित्रको तानाशाही प्रवृत्तिको अन्त्य गरेर अघि बढ्ने उनको भनाइ छ ।