शिक्षा नीति र परीक्षा प्रणालीको खराबीले नतिजा बिग्रियो: सरोकारवाला

काठमाण्डु टुडे २०७१ जेठ ३१ गते ११:०६ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ– सरोकारवालाहरुले नेपालको शिक्षा नीति र परीक्षा प्रणाली त्रुटिपूर्ण रहेको भन्दै त्यसमा आमुल परिवर्तनको आवश्कता रहेको औंल्याएका छन् ।
रिपोर्टर्स क्लबमा शनिबार भएको साक्षात्कारमा शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले मुलुकको शैक्षिक प्रणाली र नीतिमै समस्या रहेकाले एसएलसी परीक्षाको नतिजा खस्केको बताए ।

सिंगो  शैक्षिक संरचनामा परिवर्तनको आवश्यकता रहेको उनको भनाइ थियो । उनले आगामी वर्षदेखि नतिजामा सुधार आउने दाबी पनि गरे ।  शर्माले सबै दोष शिक्षकहरुलाई मात्र नदिन आग्रह गर्दै परीक्षा प्रणाली र शिक्षण सिकाईमा विशेष ध्यान दिनु पर्ने आवश्यकता औंल्याए । उनले सबै सरोकारवाला एउटै टेबलमा बसेर समस्याको समाधान खोज्नु पर्नेमा समेत जोड दिए ।

सामूदायीक विद्यालयमा प्रतिविद्यार्थी ७ हजार लगानी रहेको र निजी विद्यालयहरुमा ४९ हजारसम्म लगानी रहेकाले निजी विद्यालयको नजिता राम्रो हुनु स्वभाविक भएको उनको तर्क थियो । उनले सामुदायिक विद्यालयबाट यसवर्ष धादिङले सबैभन्द उत्कृष्ट र रौतहटले सबैभन्दा कमजोर नतिजा ल्याएको जानकारी दिंदै उत्कृष्टताका आधारमा पुरस्कृत गरिंदै जाने बताए ।
परीक्षा नियन्त्रक विष्णु द्वारेले  समस्या शिक्षा नीति र परीक्षा प्रणालीमा भएकाले सबै सरोकारवाला बसेर निकास खोज्नु पर्नेमा जोड दिए । ‘शिक्षा नै गुणस्तरीय बनाउन सकिएन, द्वारेले भने, ‘रिजल्ट प्रकाशित भएपछि होहल्ला गरेर मात्र केही हुँदैन, समयमै बसेर निकास खोज्नु पर्छ ।’ प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले सरकारी विद्यालयहरुको नतिजा खस्किँदै जाँदा सरकारले शिक्षा क्षेत्रमा लगानी घटाउन आँटेको भन्दै लगानी बढाउन माग गरे ।

उनले शिक्षा क्षेत्रमा आमुल परिवर्तनको आवश्यकतामा जोड दिँदै पब्लिक पार्टनसिपमा विद्यालयहरु सञ्चालन गर्नुपर्ने उल्लेख गरे । शिक्षाविद्ध डा हृदयरत्न बज्राचार्यले एसएलसी परीक्षा प्रणाली नै असफलसिद्ध भइसकेकाले त्यसमा परिवर्तनको लागि ठूलो बहसको आवश्यकता रहेको बताए ।

उनले आन्दोलनको बेला नतिजा राम्रो आउनु र अरु बेला खस्किनुको कारणबारे समेत समीक्षा हुनु पर्नेमा जोड दिए ।  एसएलसी नै सम्पूर्ण विद्यार्थीको ज्ञानको मापदण्ड नहुने तर्क उनको छ ।
हिसान अध्यक्ष उमेश श्रेष्ठले लामो समयदेखि परीक्षा प्रणालीमा सुधारको आवश्यकता औल्याउँदै आइएको भए पनि सरकारले ध्यान नदिएको आरोप लगाए । अविभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले शिक्षा नीति र परीक्षा प्रणालीमा खराबी रहेकाले समस्या उत्पन्न भएको भन्दै समस्या समाधानका लागि सरोकारवालहरुवीचको बृहद छलफलको आवश्यकतामा जोड दिए । उनले शिक्षामा राजनीतिकरण र हस्तक्षेप तत्काल बन्द गर्न समेत आग्रह गरे ।
यसवर्षको एसएलसीमा सबैभन्दा बढी अङ्क ल्याउन सफल काठमाण्डुको अक्सिडेन्टल पब्लिक स्कुलकी छात्रा दृष्टि गिरीले शिक्षा क्षेत्रमा अति राजनीतिकरण भएकाले पढाइको बातावरण बन्न नसकेकाले नतिजा प्रभावित भएको बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us