अख्तियारको आँखा पूर्वाञ्चल आयल निगममा

काठमाण्डु टुडे २०७१ जेठ ३१ गते १०:०५ मा प्रकाशित

विराटनगर, ३१ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको एक टोलीले नेपाल आयल निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगर र त्यहाँको डिपोको शनिबार अनुगमन गरेको छ ।

देशव्यापी पेट्रोलियम पदार्थको भारतबाट ढुवानी र बिक्री गर्ने क्रममा अनियमितता भइरहेको तथ्य सार्वजनिक भएपछि अख्तियारको एक टोली पूर्वाञ्चलको पेट्रोलियम पदार्थको अवस्था बुझ्न शुक्रबार विराटनगर पुगेको हो ।

आयोगका प्रहरी उपरीक्षक सुरेश बस्नेतको नेतृत्वमा आएको नौ जनाको टोलीले भारतको बरौनीबाट लोड गरी आएका १७ टयाङ्करलाई विराटनगर भन्सार नाकामा छड्के जाँच गरी त्यसको गुणस्तर, तौल तथा चालक र टयाङ्कर धनीका सम्बन्धमा जानकारी लिएको छ ।

त्यस क्रममा केही टयाङ्कर चालक भारतीय रहेका र उनीहरुको चालक अनुमतिपत्र जाँचका लागि स्थानीय प्रहरीलाई निर्देशनसमेत दिइएको छ । यस डिपोअन्तर्गत २५० टयाङ्करमार्फत पेट्रोलियम पदार्थ आयात र बिक्री वितरण भइरहेको छ ।

त्यस्तै टोलीले आयल निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालय र डिपोमा पेट्रोलियम पदार्थको तापक्रम लस, पेट्रोलियम पदार्थको भण्डारण अवस्था, गुणस्तर, नापतौल मेसिनको अवस्था, बिक्री वितरण, आर्थिक कारोबारको अवस्था तथा आवश्यक कागजातसमेतको जानकारी लिएको निगमका पूर्वाञ्चल प्रमुख सीताराम पोखरेलले बताए ।

अख्तियारको छुट्टाछुट्टै टोलीले आयल निगमको अमलेखगन्ज, भैरहवा, नेपालगन्ज र धनगढी पुगी आवश्यक अनुगमन सुरु गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us