वैद्य र मातृकासँग छिट्टै एकता: प्रचण्ड

काठमाण्डु टुडे २०७१ जेठ ३१ गते ९:४६ मा प्रकाशित

ललितपुर ३१ जेठ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग छिट्टै पार्टी एकता हुने दाबी गरेका छन् ।

prachanda
पार्टी सम्वद्ध धनुषा–काठमाण्डु सम्पर्क मञ्चले ललितपुरमा शनिबार गरेको कार्यक्रममा उनले वैद्यसहित माओवाद स्वीकार गर्ने सबै कम्युनिष्ट समूहसँग एकता गर्ने बताए ।

पार्टी विभाजन हुँदा आफूहरुबीच चर्कै वैचारिक–राजनीतिक मतभेद रहेको चर्चा गर्दै उनले पछिल्लो समय दुई पार्टीबीचको दुरी कम हँदै गएको जानकारी दिए । ‘हामी हिजो झगडा गरेर छुट्टिएका थियौं’, प्रचण्डले भने, ‘अहिले नजिक भएका छौं, छिट्टै एकता हुने सम्भावना छ ।’

उनले एकताका लागि दुई पार्टीका नेताबीच शीर्ष तहमा लगातार छलफल भइरहेको जानकारी दिए ।

प्रचण्डले वैद्यभन्दा पहिला अलग भएको मातृका यादव नेतृत्वको माओवादी पनि पूरानै घर फर्कने विश्वास व्यक्त गरे । अर्को एक फरक प्रसंगमा उनले संविधानसभाबाट पार्टीको साइज घटे पनि राष्ट्रिय राजनीति आफूहरुकै एजेण्डामा अघि बढेको दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us