
इलाम, ३१ जेठ– मानिसले जीवनमा कहिले हरेस खानु हुदैन, धैर्य गरे एकदिन सफलता प्राप्त हुन्छ भन्ने उदाहरण बनेका छन्, इलाम बरबोटेकी निर्मला सञ्जेल ।
बरबोटे गाउँ विकास समिति–७ की ५३ वर्षीया निर्मलाले यसपटक भने एसएलसी परीक्षा पास गरेकी छन् ।
उनले खुलातर्फबाट एसएलसी द्वितीय श्रेणीमा उत्तीर्ण गरेकी हुन् । पहिलोपटक २०३९ सालमा एसएलसी परीक्षा दिएकी निर्मलाले पटक–पटक दिँदा पनि उत्तीर्ण गर्न सकेकी थिइनन् ।
यसपटक भने भक्तपुरबाट परीक्षा दिएकी थिइन् । उनले पहिलोपटक एसएलसी दिएको ३२ वर्षपछि उत्तीर्ण भएकी हुन् । सम्भवत: एसएलसी उत्तीर्ण गर्ने उनी जिल्लाकै जेठो परीक्षार्थी भएको दाबी शिक्षा कार्यालयको छ ।
पढ्नलाई उमेरले छेक्दैन भन्ने सन्देश दिन र महिलालाई पढाइप्रति जागरुक बनाउन पनि पाको उमेरमा अध्ययनलाई निरन्तरता दिएको निर्मलाले बताइन् ।