रक्तदान गर्न आउने महिला कम

काठमाण्डु टुडे २०७१ जेठ ३१ गते ९:०३ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ– विभिन्न कारणले महिलालाई रगतको आवश्यकता पुरुषलाई भन्दा बढी हुने भए पनि रक्तदान गर्न आउने महिलाको सङ्ख्या भने कम रहेको छ ।
प्रदर्शनीमार्गस्थित केन्द्रीय रक्तसञ्चार केन्द्रको तथ्याङ्कअनुसार रक्तदान गर्न आउने महिला १५ प्रतिशतमात्र रहेका छन् । रगतको आवश्यकता पर्नेमा भने महिला ६० प्रतिशत रहेका छन् । विशेषगरी सुत्केरी अवस्थामा महिलालाई रगतको आवश्यकता बढी पर्ने गरेको छ ।
केन्द्रका वरिष्ठ प्रशासक जीवनतारा भट्टका अनुसार नेपालमा महिला स्वास्थ्य सेवामा सहज पहुाच हुन नसकेकाले पनि रक्तदान गर्नेमा महिलाको सङ्ख्या कम भएको हो । महिलालाई रक्तअल्पता हुने, श्रम बढी गर्ने तर पौष्टिक तत्वको कमी हुनेजस्ता कारणले महिला रक्तदाता कम भएको उनको भनाइ छ ।
रक्तदान गर्न आउने महिलामध्ये पनि ३० देखि ४० प्रतिशतसम्म मात्र महिलाले रक्तदान गर्न सकेको उनले बताए ।
रक्तदानअघि गरिने शारीरिक जााचमा अधिकांश महिलामा कम रक्तचाप हुने, रगतमा हेमोग्लोबिनको मात्रा कम हुनेजस्ता समस्या देखिने कारण सबै महिलाले रक्तदान गर्न नसकेको बताइएको छ ।
केन्द्रको २०६९/७० को तथ्याङ्कअनुसार नेपालभर दुई लाख ७४ हजार युनिट रगत आपूर्ति भएको छ । अहिले १७ वर्षदेखि ६० वर्षसम्मका स्वस्थ्य व्यक्तिले रक्तदान गर्न सक्नेछन् । जनचेतनाको कमीले पनि रक्तदान गर्न आउनेको कमी रहेको प्रशासक भट्टको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us