
काठमाण्डु, ३० जेठ – दोस्रो संविधानसभा निर्वाचनका क्रममा भएको धाँधली छानबीन गर्न व्यवस्थापिका संसदबाट संसदीय विशेष समिति गठन भएको छ ।
एमाओवादी लगायत केही मधेशवादी दलले मतदान सम्पन्न भइसकेपछि अदृष्य धाँधली भएको आरोप लगाउदै छानबीन समितिको माग गरेका थिए ।
छानबीन समिति गठन हुनुपर्ने भन्दै एमाओवादीले संसद सुचारु हुन नदिएपछि तीन दिनअघि शिर्ष नेताबिच संसद अवरोध खुलाउने क्रममा भएको सहमति अनुसार शुक्रवार समिति बनेको छ ।
विशेष समिति गठनको प्रस्तावमा धाँधली भन्ने शव्द भने कतै समावेश गरिएको छैन । ‘संविधानसभा निर्वाचन २०७० का सम्बन्धमा उठेका प्रश्नहरुबारे अध्ययन अनुसन्धान गरि सुझाव पेश गर्न एक संसदीय विशेष समिति गठन गरियोस’ संसद बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले प्रस्ताव पेश गर्दै भने ।
एमालेका राजेन्द्र पाण्डे र एमाओवादीका गिरिराजमणी पोखरेलले उनको प्रस्तावको समर्थन गरेका थिए ।
संसदीय छानबीन समितिमा नेपाली कांग्रेसबाट बलवहादुर केसी र कमल पंगेनी, एमालेबाट भीम रावल र भानुभक्त ढकाल, एमाओवादीबाट रामनारायण बिडारी र रेखा शर्मा तथा मधेशी दलबाट लक्ष्मणलाल कर्ण सदस्य छन् ।
छानबीन समितिको संयोजक कसैलाई तोकिएको छैन । समितिले आफ्नो कार्यबिधी आफैं निर्माण गर्ने अधिकार पाएको छ । ३ महिनाभित्र प्रतिवेदन पेश गर्ने गरि गठन भएको विशेष समितिले सभामुखको निर्देशनमा रही काम गर्नुपर्नेछ ।
‘संविधानसभा निर्वाचन २०७० को सम्बन्धमा व्यवस्थापिका संसदको बैठकमा उठेका प्रश्नबारे अध्ययन तथा अनुसन्धान गरि सुझाव सहितको प्रतिवेदन तयार गरि सभा समक्ष पेश गर्ने कार्यक्षेत्र दिइएको छ’ श्रेष्ठले भने ।