बौद्धनाथ चैत्यको जीर्णोद्धार सम्पन्न

काठमाण्डु टुडे २०७१ जेठ ३० गते १०:०९ मा प्रकाशित

काठमाण्डु, ३० जेठ – बौद्धनाथ चैत्यको जीर्णोद्धार सम्पन्न भएपछि शुक्रबार प्राणप्रतिष्ठा गरिएको छ ।

बौद्धनाथ क्षेत्र विकास समितिले करिब छ महिना अघि जीर्णोद्धार सुरु गर्दा अज्ञान र बाध्यतावश चैत्यको टुप्पामा कुल्चन परेकामा दोष मुक्तिका लागि क्षमा पूजासहित सो प्राणप्रतिष्ठा गरेको हो ।

औतारी धर्मगुरु लोसाङ नामग्याल रिन्पोछेले बौद्ध धर्म अनुसारका विभिन्न देवदेवी तथा चार दिशाका देवपाल, भूमिदेव, आकाश, वायु, पानी, अग्नि लगायत शक्तिको विधिविधानपूर्वक पूजा गरिएको छ ।

समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले लामो समयसम्म चैत्य जीर्णोद्धार गर्नु पर्दा भुलचुकवश नित्य पूजामा भएका कमजोरीलाई सच्याउन आज ती पूजा गरिएको जानकारी दिएका छन् ।

उनले करिब रु ५० लाखको लागतमा सम्पन्न भएको सो जीर्णोद्धारमा बौद्ध स्तूपको डोम र मण्डलको बिग्रिएको पर्खाल मर्मत एवं प्रदक्षिणा पथको भित्री तथा बाहिरी भागमा वज्र प्लास्टर गरी रङ्गरोगन गरिएको जानकारी दिएका छन् ।

त्यसैगरी चैत्यको वरिपरि करिब ७५ जीर्ण खापा परिवर्तन गरी नयाँ फेरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us