भ्रष्टाचारी र अपराधीलाई मृत्युदण्डको व्यवस्था संविधानमा : बिजुक्छे

काठमाण्डु टुडे २०७१ जेठ ३० गते ८:४६ मा प्रकाशित

काठमाण्डु , ३० जेठ – संविधानसभाको आजको बैठकमा तत्कालीन मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमाथि छलफल भएको छ ।

narayanman bijukchheतत्कालीन मौलिक अधिकार तथा निर्देशक सिद्धान्तमध्ये सहमति र असहमतिका विषयको निक्र्योल सम्बन्धी प्रतिवेदन २०७१ र सो सँग सम्बन्धित पूरक प्रतिवेदनमाथि छलफल जारी रहेको छ ।

सहरी विकास मन्त्री डा.नारायण खड्काले भूमिको हदबन्दी तोकिनुभन्दा प्रगतिशील भूमिकरको व्यवस्था हुनुपर्छ भन्दै राज्यको शासकीय स्वरुप सन्तुलन कायम राख्नुपर्नेमा जोड दिएका छन् ।

सभासद् नारायणमान बिजुक्छेले पुँजीवादी समाजमा हदबन्दी नतोक्ने हो भने गरिब र धनीबीचको द्वन्द्व बढेर जाने बताउँदै भ्रष्टाचारी र अपराधीलाई मृत्युदण्डको व्यवस्था संविधानमा उल्लेख हुनुपर्ने धारणा अघि सारेका छन् ।

सभासद् शक्तिबहादुर बस्नेतले भूमिमाथिको एकाधिकार अन्त्य गरी जग्गाधनीलाई भोगाधिकार दिनुपर्ने र भूमिको सन्तुलित वितरण गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।

सभासद् अशोककुमार राईले नेपाली नागरिकले सहज रुपमा नेपाली नागरिकता पाउनुपर्नेमा जोड दिँदै प्रगतिशील भूमिकर लगाउनुपर्ने बताएका छन् ।

सभासद् सुरेन्द्र चौधरीले नेपाली नागरिकता वितरणलाई सहज बनाउन आवश्यक भएको बताउँदै नागरिकताप्राप्ति अधिकार भएको विचार व्यक्त गरेका छन् ।

सभासद् मानकुमार चौधरी, राधिका तामाङ, मानबहादुर थारु, मानपुर चौधरी, सिर्जना तरामु खत्री, सखत आरा हलवाइनी र वैद्यनाथ चौधरीले शिक्षालाई मौलिक अधिकार बनाइनुपर्ने तथा ज्यालाको समान व्यवस्था र आवश्यक स्थानमा मातृभाषामा पढाइको व्यवस्था हुनुपर्ने विचार व्यक्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us