एनसेलको ८० लाखको छात्रवृत्ति

काठमाण्डु टुडे २०७१ जेठ २९ गते १२:१२ मा प्रकाशित

काठमाण्डु, जेठ २९ – मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङ अध्ययनलाई प्रोत्सहान गर्न छात्रवृत्ति तथा उत्कृष्टता सम्मानको व्यवस्था गर्ने भएको छ ।

ncellदेशकै प्रमुख मोबाइल सेवा प्रदाय कम्पनी एनसेलले पुल्चोक इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीलाई ८० लाख रुपैयाँ बराबरको छात्रवृत्ति दिन लागिएको राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिइयो ।

उच्च प्राविधिक शिक्षालाई प्रोत्साहन दिने र दक्ष जनशक्ति विकासमा योगदान पुर्‍याउने उद्देश्यले एनसेलले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार स्थापना गरेको एनसेलका प्रमुख कार्यकारी एरिम टाइलानलरले जानकारी दिए ।

एनसेल छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार अन्तर्गत एनसेलले उत्कृष्टताको आधारमा इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा कम्प्युटर संकायमा अध्ययनरत विद्यार्थीहरुमध्येबाट हरेक वर्ष १२ जनालाई छात्रवृत्ति र ४ जनालाई उत्कृष्टता सम्मान प्रदान गर्ने छ । ‘हामी एक वर्षमा १६ जनालई छात्रवृत्ति दिँदै छौं,’ उनले भने, ‘एउटा संकायबाट ४ जनाले छात्रवृत्ति पाउँछन् ।’ प्रत्येक छात्रवृत्ति र सम्मानमा एक लाख नगद सहयोग रहने छ ।

‘उच्च दक्ष जनशक्तिले नै नविन सृजनाहरु गर्दै ज्ञानमा आधारित अर्थतन्त्रको निर्माणलाई गति प्रदान गर्दछन् । यो एनसेल छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार हाम्रो तर्फबाट देशको वर्तमान आवश्यकतालाई सम्बोधन गर्ने प्रयास हो । यसले अत्यावश्यक प्राविधिक शिक्षा तथा उच्च दक्ष जनशक्ति निर्माणमा योगदान पुर्‍याउने विश्वास छ,’ टाइलानलरले भने ।

एनसेल छात्रवृत्तिले लगनशिल र उत्कष्ट विद्यार्थीहरुलाई आर्थिक व्यवस्थापनमा भन्दा पढाईमा ध्यान दिन मद्दत गर्ने छ, भने एनसेल उत्कृष्टता सम्मानले उत्कृष्ट नतिजा सहित उतिर्ण भएका विद्यार्थीहरुलाई उच्च लगन, मनोवल र उत्साहका साथ व्यवसायिक करिअर सुरु गर्न हौस्याउने छ,’ एनसेलकी कर्पोरेट कम्यूनिकेशन निर्देशक सन्जु कोइरालाले भनिन् ।

पुल्चोक इन्जिनियरिङ्ग कलेजका प्रमुख अरविन्द कुमार मिश्रले छात्रवृत्ति तथा सम्मान विद्यार्थीहरुको वार्षिक परिक्षाको नतिजाका आधारमा प्रदान गरिने बताए ।

‘अघिल्लो वर्षको वार्षिक नतिजाको आधारमा इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा कम्प्युटर का १/१ उत्कृष्ट विद्यार्थी र यि तीनै संकायका छात्राहरु मध्येबाट १ उत्कृष्ट छात्रा गरी प्रत्येक व्याचका ४ जना विद्यार्थीले एनसेल छात्रवृत्ति पाउने छन्,’ मिश्रले भने, ‘अर्थात् पहिलो वर्षका ४ टपरहरुले दास्रो वर्ष, दोस्रो वर्षका ४ टपरहरुले तेस्रो वर्ष र तेस्रो वर्षका ४ टपरहरुले चौथो वर्षको अध्ययनका लागि छात्रवृत्ति पाउने छन् ।’

उनले छात्रवृत्ति प्रतिस्पर्धाको आधारमा दिइने भएकोले गरिव विद्यार्थीले भन्दा पनि जेहन्दार र लगनशील विद्यार्थीले पाउने बताए । उनले भने, ‘विद्यार्थीहरुमा पुल्चोकमा नाम निकाल्ने बेला मेहनत गरेर पढ्ने तर नाम निकालिसकेपछि नपढेन् बानी छ । तर यो छात्रवृत्तिले विद्यार्थीलाई मेहनती बनाइरहन सफल हुन्छ भन्ने विश्वास लिएका छौं ।’

उत्कृष्टता सम्मान भने चारै वर्षका शैक्षिक नतिजाका आधारमा इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा कम्प्युटरमा १/१ सर्वोत्कृष्ट ठहरिएका विद्यार्थी तथा यि तिनै संकायका छात्राहरु मध्येबाट १ सर्वोत्कृष्ट ठहरिएकी छात्रालाई प्रदान गरिनेछ ।
 

‘छात्राहरुलाई प्रोत्साहन गर्नको लागि भनेर नै एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मानमा छात्राहरुको लागि थप क्याटेगोरी राखिएको हो,’ कोइरालाले भनिन् ।

एनसेलले सन् २०१० देखि नै शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकता दिंदै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । जसमा कर्णाली अञ्चलका सम्पूर्ण जिल्ला र अन्य जिल्लाका समेत गरेर १४ जना छात्राहरुलाई ११ देखि स्नातक तहसम्म अध्ययनका लागि पाँच वर्षको छात्रवृत्ति प्रदान गरेको छ ।

यसैगरी, डिजिटल पद्धतीवाट विद्यार्थीहरुलाई पठनपाठनमा सजिलो होस् भनेर १३ वटा विद्यालयहरुमा डिजिटल पुस्तकालय र ४२ वटा सामुदायिक विद्यालयहरुमा  कक्षाकोठाको निर्माण र विद्यालय व्यस्थापन र शैक्षिक सामग्री आदि प्रदान गरेको छ । जसवाट करिव पच्चिस हजार भन्दा धेरै विद्यार्थीहरुले प्रत्यक्ष लाभ लिइरहेका छन् ।

एनसेलले सन् २०१३ सम्म शिक्षाको क्षेत्रमा ६ करोड ६० लाख लगानी गरिसकेको जनाएको छ । नयाँ सहयोग पश्चात उक्त लगानी सात करोड ४० लाख पुगेको बताइएको छ । 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us