वर्षेनी महङगी वृद्धि, यस वर्ष दश प्रतिशत

काठमाण्डु टुडे २०७१ जेठ २९ गते ११:२६ मा प्रकाशित

काठमाण्डु, २९ जेठ – चालु आर्थिक वर्षको दश महिनामा ९.७ प्रतिशतले मूल्यवृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष ८.७ प्रतिशतले मूल्यवृद्धि भएको थियो ।

सो अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ११.६ प्रतिशतले वृद्धि भई रु एक खर्ब ३७ अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्ष ८.३ प्रतिशत वृद्धि भएको थियो ।

राष्ट्र बैंकले आज जारी गरेको प्रतिवेदनमा चालु आर्थिक वर्षको दश महिनामा विदेशी विनिमय बजारबाट अमेरिकी डलर दुई अर्ब ८६ करोड खुद खरिद गरी रु दुई खर्ब ८३ अर्ब ३३ करोड बराबरको खुद तरलता प्रवाह गरेको उल्लेख छ ।

उक्त अवधिमा सरकारी बजेट रु ५८ अर्ब ५७ करोडले बचत रहेको छ । अघिल्लो वर्षमा त्यस्तो बचत रु ४७ अर्ब ३३ करोडमात्र थियो । सो अवधिमा कुल सरकारी खर्च २.५ प्रतिशतले वृद्धि भई रु दुई खर्ब ६५ अर्ब ४१ करोड भएको छ ।

सरकारको राजस्व परिचालन १९.४ प्रतिशतले वृद्धि भई रु दुई खर्ब ८० अर्ब चार करोड पुगेको जनाइएको छ । अघिल्लो वर्षको सोही अवधिमा २३.३ प्रतिशतले वृद्धि भई रु दुई खर्ब ३४ अर्ब ४५ करोड जम्मा भएको थियो ।

सो अवधिमा समग्र सोधनान्तरस्थिति रु एक अर्ब १५ अर्ब २६ करोडले बचत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा त्यस्तो बचत रु ३८ अर्ब ६० करोड रहेको थियो ।

कुल विदेशी विनिमय सञ्चिति २०७० असार मसान्तको रु पाँच खर्ब ३३ अर्ब ३० करोडको तुलनामा यस आवमा २२.५ प्रतिशतले वृद्धि भई रु छ खर्ब ५३ अर्ब नौ करोड पुगेको जनाइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us