विद्यालय बन्द नगरिने प्रतिबद्धता : इस्टु

काठमाण्डु टुडे २०७१ जेठ २९ गते ९:४० मा प्रकाशित

काठमाण्डु, २९ जेठ  – संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) नेपालले आन्दोलनका नाममा गरिने विद्यालय बन्द गर्ने कार्य सधैँका लागि बन्द गर्ने प्रतिबद्धता जनाएको छ ।

संस्थाले विभिन्न माग राखी गरिने विद्यालय बन्दले गर्दा बालबालिकाको पढाइमा प्रत्यक्ष असर पर्ने बताउँदै माग पूरा गराउनका लागि सडक जाम, धर्ना, अनशन लगायत अन्य सङ्घर्षका विकल्प अपनाइने तर विद्यालय बन्द नगर्ने जनाएको हो ।

संस्थाले विभिन्न राजनीतिक दल, सरोकार भएका सङ्घसंस्था तथा विद्यार्थी संगठनहरुलाई पनि विद्यालय बन्द सधैँका लागि बन्द गर्नसमेत आग्रह गरेको छ ।

इस्टुका अध्यक्ष मुकुन्द गौतमले संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीको तलब वृद्धि गर्नुपर्ने र अवकास सुविधाको व्यवस्था गर्नुपर्ने लगायत माग सहित सरकारसँग विगतमा भएका नौ सूत्रीय सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपालका संस्थागत (निजी तथा आवासीय) विद्यालयमा कार्यरत पूर्वप्राथमिकदेखि माध्यमिक तहसम्म करिब दुई लाखको सङ्ख्यामा रहेका शिक्षक तथा कर्मचारीको पेसागत हकहित र शैक्षिक विकासका काम गर्ने उद्देश्यले २०६० साल माघ १ गते राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम इस्टु दर्ता भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us