
अर्घाखाँची, २९ जेठ – बिहिवार बिहान मानिसको बच्चा खाने बाघ खोज्ने क्रममा प्रहरीले सदरमुकाम सन्धिखर्कमा एक चितुवा मारेको छ ।
सन्धिखर्क नगरपालिका वडा नं १ बागी खोलामा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरिक्षक दीपेन्द्र जिसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले तीन राउन्ड गोली प्रहार गर्दा चितुवा मरेको हो ।
मारिएको चितुवाको तौल साँढे १७ केजी र लम्बाइ चार फिट तीन इन्च भएको प्रहरी नायब उपरीक्षक दीपेन्द्र जिसीले बताएका छन् ।
एक वर्षयता सन्धिखर्क आसपासमा चार बालकलाई बाघले खाएपछि नरभक्षी बाघ खोज्न चार दिनदेखि प्रहरी परिचालन भएको हो ।
बालबच्चा खाएपछि चिन्तित बनेका स्थानीय बासिन्दा चितुवा मार्दा हर्षित बनेका छन् ।
नुवाकोटमा दुई, किमडाँडामा एक र सन्धिखर्कमा एक गरी चार बालबालिकाको ज्यान गएपछि स्थानीय बासिन्दाले बाघ मार्नुपर्ने बताउँदै आएका थिए ।