काठमाण्डु, २८ जेठ – मलेसियामा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका क्रममा बायोमेट्रिक प्रणाली लागू गर्ने तयारी प्रतिस्वास्थ्य व्यवसायीले आपत्ति जनाएका छन् ।
नेपाल वैदेशिक रोजगार मेडिकल एसोसियसन र स्वास्थ्य व्यवसायी सङ्घर्ष समितिले बुधबार पत्रकार सम्मेलन गरी बायोमेट्रिक स्वास्थ्य परीक्षणसँग कुनै सरोकार नराख्ने मानिसको पहिचान खुल्ने विशेष प्रकारको चिह्न वा सङ्केत भएको बताउँदै सो प्रणाली आवश्यक नरहेको बताए ।
उनीहरूले आर्थिक लेनदेनका आधारमा त्यो प्रणाली भित्र्याउन लागिएको आरोप लगाउँदै त्यसलाई कुनै हालतमा लागू हुन नदिने बताए ।
एसोसियसनका अध्यक्ष खड्गबहादुर श्रेष्ठले यो प्रणाली कामदारको हितमा नभएको, बर्सेनि अरबौँ रूपैयाँ विदेशिने तथा सिन्डिकेटको अवस्था निम्तिने बताए ।
नेपाल वैदेशिक रोजगार मेडिकल व्यवसायी सङ्घका महासचिव कमल तामाङले बायोमेट्रिक प्रणाली लागू गरिए मलेसियामा आफूहरूले कामदार पठाउन बन्द गर्ने चेतावनी दिए ।
बायोमेट्रिक प्रणाली आगामी असार २ गतेदेखि लागू गर्ने तयारी भइरहेको छ ।