परनिर्भरतालाई अन्त्य गर्न औद्योगीकरण आवश्यक– मन्त्री थापा

काठमाण्डु टुडे २०७१ जेठ २८ गते ११:२० मा प्रकाशित

काठमाण्डु, २८ जेठ – उद्योग मन्त्री कर्णबहादुर थापाले परनिर्भरतालाई अन्त्य गर्न औद्योगीकरण आवश्यक भएको बताएका छन् ।

नेपालको औद्योगिक अवस्था र वैदेशिक लगानीको नीतिगत आधार विषयमा संवाद डवलीले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले नेपालमा यतिखेर औद्योगीकरणको वातावरण तयार भएको जानकारी दिए ।

विदेशी लगानीलाई प्रोत्साहित गर्दै उद्योग क्षेत्रको विकासलाई सरकारले प्राथमिकता दिनेमा उनको जोड थियो । मन्त्री थापाले पछिल्ला समयमा सरकार सम्भावना बोकेर पनि रुग्ण भएका केही उद्योगको सञ्चालनलगायतका कुरालाई अघि बढाएको उल्लेख गरे ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले देशको दिगो विकासका लागि उद्योग क्षेत्रको विकास अपरिहार्य हुने बताए । नेपालमा उद्योगभन्दा व्यापारलाई महत्व दिने गरिएको बताउँदै उनले व्यापारबाट तत्काल लाभ हुने भए पनि उद्योगबाट हुने लाभ देशको दीर्घकालीन विकासका लागि हुनेतर्फ सबैको चासो हुनुपर्नेमा जोड दिए ।

विदेशीले नेपालमा लगानीको क्रम बढाउन चाहेको बताउँदै क्षेत्रीले लगानीका लागि अनुकूल वातावरण तयार गरिनुपर्नेमा जोड दिए । नेपालीहरू रोजगारीका लागि दैनिकरूपमा विदेशिएको उल्लेख गर्दै उनले भने “विदेशमा काम गर्ने नेपालीहरू स्वदेशमा भने काम नगर्ने नराम्रो प्रवृत्तिलाई तत्काल अन्त्य गरिनुपर्छ ।” रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us