
काठमाण्डु, २८ जेठ – संविधानसभा भवन अगाडि बुधबार दिउँसो नेपाली काँग्रेस समानुपातिक सभासद रीता शाहीमाथि एक युवकले दुव्यर्ववहार गरेका छन् ।
सभासदमाथि दुव्र्यवहार भएपछि महिला सभासदहरुले सुरक्षाको माग गरेका छन् । यसैबिच सभामुख र गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
संविधानसभा बैठकका लागि निवासबाट टेम्पो चढेर संविधानसभा भवनतर्फ जाँदै गर्दा आफूमाथि एक युवकले संवेदनशिल अंगमा हात लगाउन खोजेको र प्रतिकार गर्दा मुक्का हानेको शाहीले बताइन् ।
सभासद भन्ने थाहा पाएपछि ती युवाले हातपात गरेको भन्दै महिला सभासदहरुले संविधानसभामा सभाध्यक्षको ध्यानाकर्षण गराएका छन् ।
दुई मुक्का प्रहार गरेर भागेका कारण ती युवकको पहिचान हुन नसकेको रीताले जानकारी गराएकी छन् । शाहीले सभासदहरुलाई दिएको जानकारी अनुसार संविधानसभाको ३ नम्बर गेट छेऊमा बाणिज्य बैंक अगाडि पुगेका बेला ती युवकले शाहीको शरीरमा हात लगाउन खोजेका थिए । के गरेको भनेर प्रश्न गरेपछि उनले शाहीको टाउकामा हात पुर्याएका थिए । त्यसपछि प्रतिवाद गर्न खोज्दा ती युवक दुई मुक्का हानेर भागेका थिए ।
सभासद शाही हुम्ला जिल्लाकी हुन् । यसअघि पहिलो संविधानसभाका सदस्यहरुमाथि मुक्का प्रहार भएको थियो ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनालदेखि एमाओवादी सभासद झक्कु सुवेदी सम्म मुक्का प्रहारमा परेका थिए ।
तर,महिला सभासदमाथि यसरी संविधानसभाको गेटैमा दुव्यवहार भएको यो पहिलो घटना हो ।