काठमाडौँ, २८ जेठ – सभामुख सुवासचन्द्र नेम्वाङले संसद् अवरुद्ध गर्दा जनताको बोली नसुनिने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घको साधारणसभाको बुधबार उद्घाटन गर्दै सभामुख नेम्वाङले संसद् अवरुद्ध गर्दा जनप्रतिनिधिले जनताको माग र विचार राख्न नपाउने भएकाले त्यसतर्फ सबै राजनीतिक दल सजग हुनुपर्नेमा चासो राखेका छन् ।
विगतदेखि नै आफूले सबै राजनीतिक दललाई कुनै पनि बहानामा संसद् अवरोध नगर्न अनुरोध गर्दै आएको उल्लेख गर्दै उनले संसद् अवरुद्ध भए पनि संविधान निर्माणको कार्यमा भने कुनै अवरोध नभएको जानकारी दिए ।
आफू सदैव उद्योग मैत्री नीति र कानुनको पक्षमा रहेको बताउँदै सभामुख नेम्वाङले त्यस्ता विधेयक संसद्मा आउने बित्तिकै पारित गर्नका लागि हरसम्भव प्रयास गर्ने विश्वास दिलाए ।
उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डेले मुलुकको अर्थतन्त्रलाई टेवा पु¥याउन निजी क्षेत्रले ठूलो योगदान दिएको बताउँदै निजी क्षेत्रको सहकार्यमा सरकारले जनतालाई आवश्यक सेवा पु¥याउन अघि बढ्नुपर्ने सुझाव दिए ।
अध्यक्ष पाण्डेले सरकारले चाँडै चेम्बर कानुन ल्याउनुपर्ने माग राख्दै नेपालका उद्योग व्यवसायीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धायोग्य बनाउन थप प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
साधारणसभामा महासङ्घका पूर्व अध्यक्षहरु, सरकारका उच्च अधिकारीहरु, प्रतिष्ठित उद्योगी एवम् महासङ्घका देशभरका प्रतिनिधिको उपस्थिति रहेको थियो ।