चारबुँदे सहमति कार्यान्वयन गर्न सरकार कटिबद्ध : प्रधानमन्त्री

काठमाण्डु टुडे २०७१ जेठ २८ गते ८:२४ मा प्रकाशित

विराटनगर, २८ जेठ – प्रधानमन्त्री सुशील कोइरालाले संसद् सुचारु गर्न शीर्ष नेताहरुबीच छलफल चलिरहेको बताएका छन् ।

sushilविराटनगरस्थित कोइराला निवासमा बुधवार पार्टी कार्यकर्तासँगको भेटमा उनले संसद् अवरुद्ध हँुदा संविधान निर्माण र बजेट सार्वजनिक गर्ने कार्यमा असर परेकाले संसद् सुचारु गर्न ढिलाइ गर्न नहुने कुरामा जोड दिए ।

प्रधानमन्त्री कोइरालाले चारबुँदे सहमति कार्यान्वयन गर्न सरकार कटिबद्ध रहेको उल्लेख गर्दै सरकारले अपनाएको सदासयतालाई प्रतिपक्षी दलहरुले पनि बुझेर संसद् सुचारु गर्न सहयोग गर्न आग्रह गरे ।

सरकारको प्रमुख लक्ष्य मुलुकमा स्थायी शान्ति कायम गरी आगामी माघ ८ गतेभित्र लोकतान्त्रिक संविधान निर्माण गर्नु रहेकाले आफ्नो लक्ष्यबाट सरकार पछि नहट्ने प्रधानमन्त्री कोइरालाले दृढता व्यक्त गरे ।

उनले वर्तमान सरकार भ्रष्टाचार निर्मूल गरी देशमा सुशासन कायम गर्न सदा तत्पर रहेको बताउँदै त्यसका लागि सबैको सहयोग आवश्यक छ भन्नुभयो ।

प्रधानमन्त्री कोइरालाले नेपाली जनताको चाहना शान्ति र संविधान रहेको बताउँदै यसका लागि आफ्ना पार्टी कार्यकर्तासँग सरकारलाई सहयोग गर्न अपिल गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us