हवाई इन्धन चोरी गरिरहेको अवस्थामा तीनजना पक्राउ

काठमाण्डु टुडे २०७१ जेठ २८ गते ४:५२ मा प्रकाशित

वीरगन्ज, जेठ –बाराको रामपुर टोकनीमा रोकिराखेको तेल ट्याङ्करबाट पेट्रोलियम पदार्थ चोरी गरिरहेको अवस्थामा प्रहरीले गएराति तीनजनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी मध्य क्षेत्रीय कार्यालय पथलैया र नेपाल प्रहरीको टोलीले ना२ख ४५४९ नम्बरको ट्याङ्करबाट हवाई इन्धन १५० लिटर, डिजल २० लिटर र मट्टितेल १० लिटर दसीसहित उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक कुमारविक्रम थापाले बताए ।
पक्राउ पर्नेमा रामपुर टोकनी–९ का रफिक अन्सारी, ट्याङ्कर चालक हेटाँैडा–५ का शम्भु ठकुरी र सहचालक सजन ठकुरी रहेकोे जानकारी थापाले दिए ।
क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाको विशेष सक्रियतामा सशस्त्र प्रहरी वाहिनी पथलैया, इलाका प्रहरी कार्यालय सिमरा, इलाका प्रहरी कार्यालय जितपुरको सहयोगमा उनीहरुलाई पक्राउ गरिएका हुन् ।

राजमार्गमा पेट्रोलियम पदार्थको चोरीको गुनासो बढ्दै गएपछि यसलाई रोक्न प्रहरी सक्रिय भएको र आफूहरुले चोरीविरुद्ध विशेष अभियान नै सञ्चालन गरिरहेको मध्यक्षेत्रीय सशस्त्र प्रहरी बल रुद्र बाहिनी पथलैयाका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक शैलेन्द्र खनालले बताए ।

उनले राजमार्गमा हुने तेल चुहावट नियन्त्रणका लागि आफूहरुले अभियान नै सञ्चालन गरेको जानकारी गराए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us