संसदको अवरोध हटाउन मुख्य तीन दलबीच छलफल हुने

काठमाण्डु टुडे २०७१ जेठ २८ गते ३:२० मा प्रकाशित

काठमाण्डु, २८ जेठ –व्यवस्थापिका संसदको अवरोध हटाउन मुख्य तीन दलबीच आज छलफल हुँदैछ । आजको संसद बैठकअघि नै तीन दलबीच छलफल हुने भएको हो ।
आजको छलफलले सहमति गर्ने र संसद खुलाउने टुंगो लगाउने छ ।
लगातार संसद बैठक अवरुद्ध भैरहँदा नागरिकमा असन्तुष्टी बढेको भन्दै

सभामुख सुवासचन्द्र नेम्वाङले छिटो सहमति गर्न दलहरुलाई आग्रह गर्दै आएका छन् ।
प्रधानमन्त्री सहित मुख्य दलका शीर्ष नेताहरुले पनि सहमतिमा जोड दिँदै आएका छन् । तर एकीकृत माओवादीले उठाएको मागमा दलहरुबीच एकमत हुन सकेको छैन ।

एकीकृत नेकपा माओवादीले चार बुँदे सहमति अनुसार उच्चस्तरीय राजनीतिक सहमति गठन गर्नुपर्ने र त्यसको नेतृत्व आफूले गर्न पाउनुपर्ने माग गर्दै आएको छ ।
तर नेपाली कांग्रेस र नेकपा एमाले एकीकृत माओवादीलाई समितिको नेतृत्व दिन नहुने अडानमा छन् ।

बजेट रकमान्तर, संविधानसभा चुनावमा भएको भनिएको धाँधलीबारे छानबिन समिति गठन गर्न भने यसअघि नै सहमति भैसकेको नेताहरुको भनाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us