
काठमाण्डु, २८ जेठ – नेपाल वायु सेवा निगमले चीनबाट अनुदानमा ल्याएको नयाँ जहाजले छिट्टै नै व्यवसायिक उडान गर्ने भएको छ ।
आउँदो असार १५ गतेभित्र उडान भर्ने तयारी भएको निगमले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणमा मंगलबार दर्ता भएपछि अब आवश्यक अरु प्रक्रिया पूरा गरेर उडान सुरु गर्ने तयारी भएको प्राधिकरणले जनाएको छ ।
ढिलोमा असार १५ गते उडान सुरु गर्ने तयारी छ प्राधिकरणका प्रवक्ता रामहरि शर्माले भने । गएको वैशाख १४ गते काठमाण्डु आइपुगेको ५६ सिट क्षमताको यो जहाजले जेठ १ गतेदेखि नै व्यवसायिक उडान गर्ने तयारी भएको थियो ।
तर उडानको लागि आवश्यक प्रक्रिया पूरा गर्न नसक्दा ढिलाई भएको हो । निगमले थप ५ वटा नयाँ जहाज पनि ल्याउने तयारी गरेको छ । थप एक अनुदानमा र चारवटा खरिद गरेर ल्याउन लागिएको प्राधिकरणले जनाएको छ ।
चीनकै अनुदानमा अर्को जहाज अबको तीन हप्ताभित्र आइसक्ने शर्माले बताए ।