
प्रकाश सिलवाल–काठमाण्डु २८ जेठ –नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनका लागि अलगअलग समूहका अध्यक्षका दुई प्रत्याशी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीबीच मंगलबारको केन्द्रीय कमिटीको बैठकमै सवाल जवाफ भएको छ ।
दुवै समूहबीच विभिन्न भेलाहरूमा उम्मेदवारीको औचित्य प्रस्तुति र आरोप प्रत्यारोपको क्रम चलिरहेका बेला औपचारिक बैठकमै कुरा राख्नुलाई केन्द्रीय सदस्यहरूले सकारात्मक मानेका छन् ।
महाधिवेशनमा नेतृत्व चयनमा सहमतिका लागि सहजता निर्माण गर्न दुवै नेताले आफू पछि हट्ने सङ्केत भने गरेनन् ।
लामो समयको स्वास्थ्य उपचारबाट फर्केर आज पहिलोपटक बैठकमा सहभागी नेता ओेलीले बैठकमा करिब एक घण्टा कुरा राखेपछि नेता नेपालले जवाफी शैलीमा मन्तव्य दिएका थिए ।
नेता ओलीले नवौं महाधिवेशनलाई केवल कर्मकाण्डी मात्र नभई ऐतिहासिक र एकताबद्ध बनाउन जोड दिए तर नेता नेपालले सहमति गर्ने नाममा लोकतान्त्रिक विधिअनुसार प्रतिस्पर्धाको मैदानमा उत्रन पनि तयार रहेको जनाउ दिए ।
एमालेका केन्द्रीय प्रचार विभागका प्रमुख प्रदीप ज्ञवालीका अनुसार बैठकमा नेता ओलीले ‘यो हाम्रै पार्टीको महाधिवेशन हो, कुनै युद्ध होइन, कित्ताकाट गर्ने कुरा पनि होइन, कित्ता मिलाउने कुरा गरौं ।’
ओलीले लोकतान्त्रिक संविधान निर्माण गर्ने र देशको नेतृत्व सम्हाल्न सक्ने पार्टी नेतृत्व चयनमा जोड दिए ।
नेता ओलीले नेपाली काँग्रेससँगको सत्ता साझेदारीमा देखिएको कमजोरीबारे पनि प्रकाश पार्दै सो दलले एमालेलाई ‘झुम्रको पुतली’ ठान्न नहुने धारणा राखेका थिए ।
पार्टीका पोलिटब्युरो सदस्य अष्टलक्ष्मी शाक्यका अनुसार नेता नेपालले आफू लामो राजनीतिक पृष्ठभूमि र योगदान गर्दै यहाँसम्म आएको बताउँदै त्यसको मूल्याङ्कन हुनुपर्नेमा जोड दिएका थिए । नेपालको भनाइ थियो – ‘नेतृत्वका नाममा बदख्वाईँ नगराँैै, कसैलाई निधेष गर्ने कुरा पनि हुँदैन, सकेसम्म मिलेर जाउँ नत्र लोकतान्त्रिक विधिबाट जान सक्नुपर्छ ।’
नेत्री शाक्यले महाधिवेशनका लागि अध्यक्षमा उम्मेदवारहरुले यसरी बैठकमा खुलस्त कुरा राख्दा दुवै पक्षलाई बुझ्न र मिलाउन सहज हुने बताइन् ।
एमालेको नवौं महाधिवेशन आगामी असार १९ देखि २५ गतेदेखि काठमाण्डुमा हुँदैछ ।