उच्चस्तरीय समितिको नेतृत्व हामीले पाउनुपर्छ: प्रचण्ड

काठमाण्डु टुडे २०७१ जेठ २७ गते १५:१९ मा प्रकाशित

नेपालगञ्ज, २७ जेठ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने बताएका छन् ।

prachanda
पार्टी कामका सिलसिलामा बाँके पुगेका उनले नेपालगञ्जमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा शान्ति प्रक्रियामा महत्वपूर्ण पक्ष भएको नाताले समितिले नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने बताए ।

‘शान्ति प्रक्रियाका एक जना हस्तक्षरकर्ता गिरिजाबाबु (गिरिजाप्रसाद कोइराला ) अहिले हुनुहुन्न’, प्रचण्डले भने, ‘अर्को हस्ताक्षर कर्ताका नाताले त्यसको नेतृत्व हाम्रो पार्टीले पाउनुपर्छ ।’

उनले समितिको नेतृत्व आफूले पाए संविधान लेखन र शान्ति प्रक्रियाका बाँकी काम सहज रुपमा निष्कर्षमा पुर्‍याउन सजिलो हुने दाबी गरे ।

प्रमुख राजनीतिक दलबीच व्यवस्थापिका–संसदको जारी अवरोध हटाउन भएको वार्तामा अन्य विषयमा कुरा मिले पनि समितिको नेतृत्वलाई लिएर दलहरुबीच विवाद भएको छ ।

अर्को एक फरक प्रसंगमा उनले प्रमुख दलबीच भएको चार बुँदे सहमति कार्यान्वयनका लागि सरकार गम्भीर नभएकाले संसदको अवरोध हट्न नसकेको बाताए । आफ्नो पार्टीसहित विपक्षीले अघि सारेका माग सजिलै समाधान हुने खालका भए पनि सरकार संसद खुलाउन गम्भीर नरहेको आरोप लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us