
काठमाण्डु, २७ जेठ – नेपाली काँग्रेस नुवाकोट जिल्लाको भेलाले आफ्नै जिल्लाका सभासद तथा अर्थमन्त्री डा रामशरण महतले आफ्नो निर्वाचन क्षेत्रमा मात्र विकास आयोजना पारेको आरोप लगाएको छ ।
काठमाडौंमा जिल्लाका सभापती, महाधिवेशन प्रतिनिधि, क्षेत्र तथा इलाका प्रतिनिधिहरुको भेलाले मन्त्री महतले आफु निर्वाचित भएको क्षेत्र नम्वर दुईमा मात्र रकमान्तर गरेर कार्यक्रमहरु लगेको आरोप लगाएको हो ।
नुवाकोट जिल्लाका महासमिति, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्य समिति ता गाउँ कार्य समितिका सभापतिहरुको भेलाले जिल्लामा आएका विकास आयोजनहरु एक र तिन नम्वर क्षेत्रबाट हटाएर दुई नम्वरमा पारिएको तथा सिफारिश भई गएका कतिपय विकास आयोजनाहरु समेत हटाईएको भन्दै विज्ञप्ति मार्फत आफ्नै पार्टीका मन्त्री डा रामशरण महत जिल्लाको समानविकास विरोधी भएको आरोप लगाएको छ ।
साथै आफ्नै पार्टीका सभासद जगदिश्वर नरसिंह केसीलाई विकास विरोधी भनेकोमा पनि आपत्ती जनाएको छ ।
दोस्रो संविधानसभा चुनावमा नुवाकोट जिल्लाको तिनै क्षेत्रमा नेपाली काँग्रेसले प्रत्यक्ष चुनावमा विजय हासिल गरेको छ ।
तर जिल्लामा एउटै पार्टी भइकन पनि क्षेत्र नम्वर १ बाट प्रत्यक्ष निर्वाचनमा बिजयी हुनुभएका सभासद नेता अर्जुन नरसिंह केसी र क्षेत्र नम्वर २ का सभासद मन्त्री महत विच राजनीतिक दुरी रहँदै आएको पार्टी कार्यकर्ताको भनाइ रहेको छ । ।
संसदमा बजेट रकमान्तरको बिरोधमा एमाओवादी, मधेश केन्द्रित दलहरुले अर्थमन्त्रीको बिरोध गरिरहेका छन् भने जिल्लामा समेत आफ्नै पार्टीका अन्य क्षेत्रका सभासद तथा नेता र अन्य पार्टीहरुले मन्त्री महतले आफ्नो निर्वाचन क्षेत्रमा मात्र बजेट पारेको भन्दै विरोध जनाउँदै आइरहेका छन् ।
हाल संविधानसभामा नुवाकोट जिल्लाबाट संविभानसभामा ७ जनाले प्रतिनिधित्व गरिरहेका छन् । जसमा नेपाली काँग्रेस ५, राष्टिय प्रजातन्त्र पार्टी १, एमाओवादी १ रहेको छ ।