
काठमाण्डु, २७ जेठ – नेकपा एमालेको मङलबार बसेको केन्द्रीय कमिटीको बैठकले बिधान संशोधनका लागि कार्यदल गठन गरेको छ । प्रस्तावलाई अन्तिम रुप दिनका लागि गठित कार्यदलमा माधव नेपाल र केपी ओली पक्षकालाई भागबण्डा गरिएको छ ।
सचिव युवराज ज्ञवालीले पेश गरेको प्रस्तावमा सहमति हुन नसकेपछि अध्यक्ष झलनाथ खनालको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन भएको छ ।
मंगलवारको केन्द्रीय कमिटी बैठकले गठन गरेको कार्यदलमा नेपाल र ओली पक्षबाट पाँच पाँच जना सदस्य छानिएका छन् । कार्यदलमा माधव नेपाल पक्षका सचिव युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, प्रकाश ज्वाला, बेदुराम भुषाल र भीम रावल सदस्य छन् ।
ओली पक्षका महासचिव इश्वर पोखरेल, सचिवद्धय बिष्ण्ुा पौडेल, शंकर पोखरेल, पोलिटव्यूरो सदस्य प्रदीप ज्ञवाली र बिष्ण्ुा रिमाल छन् ।
केन्द्रीय सदस्य योगेश भट्टराईका अनुसार हालसम्म २ लाख ५५ हजार सदस्यको संगठित सदस्यता नवीकरण भइसकेको छ । केहि जिल्ला र प्रवासको नवीकरणको काम सकिएपछि सदस्यको संख्या २ लाख ६० हजार नाघ्ने अनुमान एमालेको छ ।
महाधिवेशन प्रतिनिधिको चयन आगामी असार ७ गते देशैभरि एकै दिन सम्पन्न गर्ने गरी प्रस्ताव गरिएको छ । उपनिर्वाचन हुने काठमाडौं उपत्यका, चितवन, बदिर्या र कैलाली जिल्लामा भने प्रतिनिधि चयन असार १० गते हुने मंगलवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष झलनाथ खनालले जानकारी दिएका छन् ।
प्रतिनिधी चयनका लागि २ सय सदस्य बराबर एक महाधिवेशन प्रतिनिधि हुने अनुपात कायम गरिएको छ । महिला, दलित, मजदूर र पिछडिएको क्षेत्रका हकमा १ सय ५० सदस्य बराबर एक प्रतिनिधि हुने व्यवस्था गरिएको केन्द्रीय सदस्य भट्टराईले जानकारी दिए ।
एमालेले नवौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । ‘लोगोमा प्रस्तुत रातो रङगले पार्टीको क्रान्तिकारी र रुपान्तरणकारी चरित्रलाई अभिव्यक्त गर्छ भने सुनौलो रङगले पार्टीले निर्माण गर्न चाहेको समृद्ध नेपालको प्रतिनिधित्व गर्छ ।
नीलो रङगले शान्तिलाई झल्काउँछ भने राष्ट्रिय झण्डाको साङकेतिक बिम्बले राष्ट्रियताप्रतिको निष्ठालाई इङगीत गर्दछ ‘ केन्द्रीय सदस्य भट्टराईले जानकारी दिए ।