काठमाण्डु, २७ जेठ – प्रधानमन्त्री सुशील कोइरालाको फोक्सोमा क्यान्सरको संभावना देखिएको छ । गत शनिवार कोइरालाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
कोइरालाका निजी चिकित्सक प्राडा करबीरनाथ योगीले मंगलबार विज्ञप्तिमा भनेका छन् प्रधानमन्त्रीमा तीन हप्तादेखि सुख्खा खोकी र कहिले काँही ज्वरो आउने लक्षण देखिएको छ ।
सिटी स्क्यान गर्दा फोक्सोमा सानो दाग देखिएकोले उहाँको थप परीक्षण हुँदै गरेको छ ।’ उनका अनुसार चिकित्सकहरुले थप उपचारका लागि चाँडै नै सुविधा सम्पन्न अस्पतालमा जान प्रधानमन्त्रीलाई सल्लाह दिएका छन् ।
प्रधानमन्त्री कोइरालाले ब्रोङ्काइटिसको औषधीहरु दैनिक सेवन गरिरहेका छन् । केहि वर्ष अगाडी अमेरिकामा जिब्रोको क्यान्सरको शल्यक्रिया गराएका कोइरालाले वर्षमा एक पटक नियमित परीक्षण गराउँदै आएका थिए ।
गत वर्ष असार १३ गते अमेरिकामा परीक्षण गराएका कोइरालाले चिकित्सकहरुले असारको दोस्रो हप्ताभित्र नियमित परीक्षण गराउन उपयुक्त हुने सुझाव दिएको डा योगीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।